
सम्पादकीय
बिहीबार विराटनगरमा उद्योग संगठन मोरङ र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरिक वासबीच भएको छलफलले द्विपक्षीय व्यापार तथा औद्योगिक सहकार्यमा नयाँ आशा जगाएको छ । दुई देशका निजी क्षेत्रबीचको सहकार्य, प्रविधि हस्तान्तरण र व्यावसायिक सम्भावनाका विषयमा भएको यो वार्ताले आपसी सम्बन्धलाई आर्थिक आयामबाट अझ मजबुत बनाउने मार्ग प्रशस्त गरेको छ ।
छलफलका क्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले दुई देशबीचका परस्पर पूरक क्षमताहरू पहिचान गरी व्यावसायिक साझेदारीका सम्भावनाहरू खोज्न सकेमा लगानी र संयुक्त उद्यमका लागि अनुकूल वातावरण तयार गर्न सकिने आवश्यकता औंल्याए । इजरायलले प्रविधि, नवप्रवर्तन र आधुनिक कृषि अभ्यासमा गरेको उल्लेख्य प्रगतिलाई नेपालले हरितगृह प्रविधि, बाली व्यवस्थापन र प्रशोधनजस्ता क्षेत्रमा उपयोग गर्न सक्ने उनको भनाइ महत्त्वपूर्ण छ । नेपालको कृषिप्रधान अर्थतन्त्रलाई आधुनिकीकरण गर्ने दिशामा ज्ञान आदानप्रदान, तालिम र कृषि उद्योगमा लगानीमार्फत सहकार्यका लागि जोड दिइएको छ ।
यसैगरी, इजरायली राजदूत श्मुलिक एरिक वासले व्यापार र व्यवसाय केवल आर्थिक वृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणका लागि पनि महत्वपूर्ण आधार भएको उल्लेख गर्दै नेपालसँगको दीर्घकालीन सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत पार्न व्यापारिक सम्बन्ध विस्तारका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालको आर्थिक तथा उत्पादन क्षमता थप बुझ्न इच्छुक रहेको र नेपालबाट आयात गर्न सकिने सम्भावित वस्तुहरूबारे अध्ययन गर्न आवश्यक रहेको उनको भनाइले व्यापार सन्तुलन इजरायलको पक्षमा रहेको वर्तमान अवस्थालाई सुधार्ने दिशामा सकारात्मक संकेत दिएको छ । इजरायलको प्राविधिक विशेषज्ञता र अनुभवलाई नेपालको उत्पादनशीलता वृद्धि, कृषि आधुनिकीकरण र उद्यमशीलता विकासमा योगदान पु¥याउन सकिने कुरामा राजदूत सकारात्मक देखिनुले प्रविधि हस्तान्तरणका लागि ढोका खुलेको छ ।
संगठनका कोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन समितिका संयोजक पारस लुनियाले दुई देशबीच वार्षिक ९ मिलियन अमेरिकी डलरभन्दा बढीको व्यापार भए पनि इजरायलको पक्षमा अत्यधिक व्यापार सन्तुलन रहेको तथ्यांक प्रस्तुत गर्दै यसलाई सच्याउनुपर्नेमा जोड दिए । गलैंचा, हस्तकलाका सामग्री र छालाजन्य वस्तु नेपालबाट निर्यात हुने गरेको र इजरायलबाट प्याक गरिएका औषधि, दूरसञ्चार तथा कृषि उपकरणहरू आयात हुने गरेको अवस्थामा कृषि तथा कृषि प्रविधि, ड्रिप सिँचाइ प्रणाली, सूचना प्रविधि, कागज, डाइपर, स्यानिटरी प्याड उत्पादन र वुड फार्मिङजस्ता क्षेत्रमा सहकार्यका ठूला सम्भावना रहेको उनको विश्लेषण छ । कोशी प्रदेशमा इजरायली कृषि प्रविधिलाई स्थानीय कृषि प्रणालीमा प्रयोग गरी संयुक्त पाइलट परियोजना सञ्चालन गर्न सकिने सम्भावनाले व्यावहारिक कार्यान्वयनको खाकासमेत प्रस्तुत गरेको छ ।
द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन ४,५०० भन्दा बढी नेपाली केयरगिभरहरूले इजरायलमा पु¥याएको योगदान र ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत प्रदान गरिएका छात्रवृत्ति तथा तालिमका अवसरहरूले सांस्कृतिक र शैक्षिक आदानप्रदानको महत्वलाई उजागर गर्दछ । यसै सन्दर्भमा लामो समयदेखि बेपत्ता रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि गरिएको आग्रहले दुई देशबीचको मानवीय सम्बन्धको संवेदनशीलतालाई पनि दर्शाएको छ ।
समग्रमा, विराटनगरमा भएको यो छलफलले नेपाल–इजरायल सम्बन्धलाई केवल कूटनीतिक औपचारिकताबाट व्यावसायिक सहकार्य र आर्थिक साझेदारीको नयाँ उचाइमा पु¥याउने स्पष्ट दिशा देखाएको छ। दुवै देशका निजी क्षेत्र, सरकार र कूटनीतिक नियोगहरूले यस छलफलमा व्यक्त प्रतिबद्धता र सम्भावनाहरूलाई मूर्त रूप दिन निरन्तर पहल गरेमा नेपालको आर्थिक विकास र इजरायलसँगको सम्बन्ध थप सुदृढ हुनेमा कुनै शंका छैन ।