कृष्णाष्टमी र प्रसूति गृहको सम्झना

 डा. बालकृष्ण साह

सन् २०१२ को कृष्णाष्टमी, मेरा लागि त्यो दिन केवल धार्मिक पर्व मात्र थिएन । त्यो दिन मेरो जीवनको एउटा अद्वितीय अनुभवको स्मृति बनेर अझै पनि हृदयमा ताजा छ ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, सबैले माया गरेर “प्रसूति गृह“ भनेर चिनेको संस्था । त्यस दिन ५३औँ वार्षिकोत्सवको रौनकमा डुबेको थियो । बिहानैदेखि अस्पतालको प्राङ्गण भव्य मेला झैं देखिन्थ्यो । अघिल्लो दिन ड्युटीमा रहँदा नै मैले कर्मचारीहरूको तयारी देखेको थिएँ । सजावट, मञ्च निर्माण, फूलमालाको व्यवस्था, अतिथि स्वागतका तयारी, बाहिरी ममनिसहरुसँग अस्पताल पनि खटेका थिए । कर्मचारीहरू हर्षित थिए, अनि एउटा कौतुहल सबैको मनमा थियो, “यस पटक कुन विभाग उत्कृष्ट ठहरिन्छ ?”

त्यो दिन ठूलो स्टेज तयार पारिएको थियो। स्वास्थ्य मन्त्रीदेखि अन्य विशिष्ट अतिथिसम्मको उपस्थितिले वातावरणलाई अझ गम्भीर र गौरवमय बनाइरहेको थियो । अतिथिहरूलाई सम्मानपूर्वक स्वागत गरिँदै थियो, अनि कर्मचारी र आगन्तुकहरूलाई भोजनको व्यवस्थासमेत गरिएको थियो ।

कार्यक्रम सुरु हुनु अघि हामी रेजिडेन्ट डाक्टरहरूलाई विशेष जिम्मेवारी दिइएको थियो, राष्ट्रिय गानको सामूहिक प्रस्तुति। म पनि त्यस सामूहिक स्वरमा समाहित थिएँ । त्यो क्षण, सयौँ दर्शक र अतिथिहरूको अगाडि उभिँदै गाइएका ती स्वरहरू केवल गीत थिएनन्, बरु हाम्रो सामूहिक पहिचान र कर्तव्यप्रतिको समर्पणका प्रतीक थिए ।

अस्पतालका नर्स, चिकित्सक र कर्मचारीहरूले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति राखेका थिए । प्रत्येक प्रस्तुति अस्पतालकै धड्कनसँग जोडिएको थियो । नर्सहरूको नृत्य, चिकित्सकहरूको कविता, कर्मचारीहरूको गीत। त्यो वातावरणले देखाउँथ्यो—प्रसूति गृह केवल अस्पताल होइन, एउटा परिवार हो, जहाँ काम, कला र भावना मिसिन्छन् ।

प्रतियोगिताहरू पहिले नै सम्पन्न भइसकेका थिए । त्यस दिन केवल परिणाम घोषणा गरिन्थ्यो । उत्कृष्ट विभाग, उत्कृष्ट कर्मचारी, अनि विविध प्रतियोगिताका विजेताहरूलाई सम्मान गर्ने परम्परा थियो । जब परिणाम घोषणा भयो, म वक्तृत्व प्रतियोगितामा दोस्रो भएको थाहा पाएँ । स्टेजमा बोलाइएर पुरस्कार र प्रमाणपत्र ग्रहण गर्दा त्यो केवल उपलब्धि मात्र थिएन । मेरो आत्मस्मरणीय जीवनयात्राको चम्किलो पानामा कोरिएको क्षण थियो ।

त्यस दिन मेरो श्रीमती र छोरी पनि कार्यक्रममा उपस्थित थिए। पुरस्कार ग्रहण गर्दा उनीहरूलाई देख्दा मेरो खुसी झन् गहिरो भयो । परिवारको उपस्थितिले त्यो सम्मानलाई अझै अर्थपूर्ण बनाइदियो ।

प्रसूति गृहको कथा

तर त्यो दिनको गहिरो महत्व केवल व्यक्तिगत उपलब्धिमा सीमित थिएन । किनभने यो संस्था आफैंमा एउटा ऐतिहासिक यात्राको प्रतीक हो।वि.सं. २०१६ (सन् १९५९) मा परोपकार संस्थाका संस्थापक दीनबन्धु पृथ्वीराज डायलले नेपालकै पहिलो मातृत्व अस्पतालको रूपमा प्रसूति गृह स्थापना गरेका थिए । त्यतिबेला आमाहरू प्रसूतिको समयमा अकालमै ज्यान गुमाउँदै थिए, सुरक्षित प्रसूतिको सुविधा थिएन। ४५ शैयाबाट सुरु भएको सानो अस्पताल आज सयौँ शैयासहित देशकै मातृत्व र स्त्रीस्वास्थ्य सेवाको आधारस्तम्भ बनेको छ ।

कृष्णाष्टमीकै दिन स्थापना भएको हुनाले प्रत्येक वर्ष यही दिन वार्षिकोत्सव मनाइन्छ। यसरी धार्मिक पर्व र मातृत्व स्वास्थ्यको इतिहास जोडिनु आफैंमा गहिरो प्रतीक हो—नयाँ जीवन जन्माउने अस्पताल, र जीवनको पुनर्जन्मको दिन।आज, दशक बितिसक्दा पनि त्यो स्मृति मेरो मानसपटलमा ताजा छ । भव्य स्टेज, राष्ट्रिय गान गाइरहेका हामी रेजिडेन्टहरू, नर्सहरूको झलमल नृत्य, पुरस्कार घोषणा, हर्षित कर्मचारीहरूको अनुहार, अनि स्टेजतिर हेरिरहेकी मेरी पत्नी र छोरी—यी सबै टुक्रा–टुक्रा दृश्यहरूले मभित्र एउटा पूरा चलचित्र निर्माण गर्छन् ।

त्यो मेरो पहिलो र सम्भवतः अन्तिम अवसर थियो, तर अद्वितीय र अविस्मरणीय। आज जब म कृष्णाष्टमी सम्झन्छु, केवल भगवान् कृष्णको जन्मोत्सव मात्र होइन, प्रसूति गृहको गौरवशाली यात्रा र मेरो आफ्नै जीवनको त्यो उज्यालो दिन पनि सम्झन्छु ।

Supported only between 1944-2022