संखुवासभा ।सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौँथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।मादी नगरपालिका–४ स्थित ओखरबोटे बजारको कभर्डहलमा भएको चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको फाइन खेल आइतबार भएको हो ।
नगरपालिकाले पुरुष डबल ए डिभिजन, पुरुष डबल बि डिभिजन, पुरुष भेट्रान्स डबल र महिला डबल विधामा प्रतियोगिता गराएको थियो । पुरुष डबल ए डिभिजनतर्फ सङ्खुवासभाका सुनिलजंग कार्की र भोजपुरका विशाल तामाङको जोडी विजेता बनेका छन् । कार्की र तामाङको जोडीले उदयपुरका विनय चौधरी र मोरङका लाक्पा शेर्पाको जोडीलाई पराजित गर्दै विजेता बनेका छन् ।
पुरुष डबल ए डिभिजनतर्फ सङ्खुवासभाका मुनुहाङ गुरुङ र निशान कटुवालको जोडी तथा विशाल खड्का र राम राईको जोडी तेस्रो भएका छन् । पुरुष बि डिभिजनतर्फ सङ्खुवासभाका दिनेश राई र दिवन तामाङको जोडी विजेता बनेका छन् । सङ्खुवासभाकै सन्दिप भगत र गंगालाल श्रेष्ठको जोडीलाई हराउँदै राई र तामाङको जोडी विजेता बनेका हुन् ।
महिला डबलतर्फ उदयपुरकी रोजी राई र सुनसरीकी सृष्टि राईको जोडि विजेता बनेका छन् । फाईनल प्रतियोगितामा प्रतिस्पर्धी इलामकी निशम हाङ सुब्बा र सङ्खुवासभाकी एलिना श्रेष्ठमध्ये एलिना राई खेलको सुरुवातिमा नै घाईते भएपछि राईको जोडी विजेता घोषित भएको थियो । महिलातर्फ भोजपुरकी मनिशा गोले र अरुणा तामाङ तथा पोखराकी समिता पुन र तिलमाया राना तेस्रो भएका छन् ।
पुरुष भेट्रान्स डबल एकसय माथि पोखराका विशाल खड्का र मोरङका उत्तम सिम्खडाको जोडी विजेता बनेका छन् । फाईनल खेलमा सङ्खुवासभाका अमर विष्ट र राजु श्रेष्ठको जोडिलाई पराजित गर्दै खड्का र सिम्खडाको जोडि विजेता बनेको हो । यो विधामा जिवन बोगटी र पूर्ण बुढा तथा राम राई र धनबहादुर तामाङको जोडी तेस्रो भएका छन् ।
प्रतियोगितामा कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशबाट खेलाडीहरुको सहभागिता रहेको आयोजक मादी नगरपालिकाका नगर प्रमुख जीवन लिङ्थेपले जानकारी दिए । पुरुष डबलतर्फका प्रथम, द्वितीय र तृतीय हुने २ टिमले क्रमशः ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ७५ हजार, ५० हजार र २०–२० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै पुरुष भेट्रान्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने २ टिमले क्रमस ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ५० हजार, ३० हजार र १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
महिला डबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने २ टिमले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद क्रमशः ४० हजार, ३० हजार र १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् भने पुरुष डबल बि डिभिजनतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टिमले क्रमशः २० हजार, १० हजार र ५–५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।