विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि कोशी प्रदेशसभा चिटिक्क बनाइएको छ । रङरोगन तथा सरसफाइ गरेर प्रदेशसभा र परिसर चिटिक्क बनाइएको हो ।
मंगलबार दिउँसो २ बजे प्रदेशसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको छ । सोमबार बिहानैदेखि प्रदेशसभा सचिवालयका कर्मचारी सरसफाइमा व्यस्त रहेका छन् ।
फूलबारी तथा प्रदेशसभा सचिवालय परिसरभित्र रङरोगन गरिएको छ । प्रदेशसभा सचिवालयका कर्मचारीले भने यो नियमित काम भएको बताएका छन् ।
‘यो काम प्रदेशसभाको नियमितभित्र नै पर्छ’, लेखा अधिकृत जीवन राजभण्डारीले भने, ‘यो नयाँनौलो काम होइन ।’
नियमित गर्ने काम नै प्रधानमन्त्री आउनुभन्दा अघिल्लो दिन गरिएकाले प्रधानमन्त्री आएपछि सरसफाइ गरिएको भनेर हल्ला भएको हुन सक्ने उनले बताए ।
