भारतको दिल्लीको सातौं मुख्यमन्त्रीमा रेखा गुप्ता

विराटनगर । भारतको दिल्लीको सातौं मुख्यमन्त्रीमा रेखा गुप्ताले आज शपथ लिँदैछिन् । उनले दिउँसो १२ बजे रामलीला मैदानमा शपथ लिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनी दिल्लीको चौथो महिला मुख्यमन्त्री हुनेछिन् । उनीभन्दा अगाडि सुषमा स्वराज, शीला दीक्षित र आतिशीले यो पद सम्हालिसकेका छन्।

बुधबार साँझभारतीय जनता पार्टी (भाजपा)संसदीय दलको बैठकले रेखालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

हालै सम्पन्न विधानसभा चुनावमा उनले शालिमार बाग सिटबाट आम आदमी पार्टीकी बन्दना कुमारीलाई लगभग ३० हजार मतले पराजित गरेकी थिइन् । उनी २०२० को चुनावमा झिनो मतान्तरले सोही सिट पराजित भएकी थिइन् ।

उनी दिल्ली महानगरपालिकाकी काउन्सिलर र दिल्ली विश्वविद्यालय विद्यार्थी संघकी अध्यक्ष पनि हुन् । उनले आफ्नो राजनीतिक करियर दिल्ली विश्वविद्यालयको अखिल भारतीय विद्यार्थी परिषदबाट शुरू गरेकी हुन् ।

बीबीसी हिन्दीमा प्रकाशित समाचारअनुसार १९९६ मा उनी दिल्ली विश्वविद्यालय विद्यार्थी संघको अध्यक्ष बनेकी थिइन् । २००७ मा उनी दिल्लीको पितामपुरा (उत्तर)को काउन्सिलर बनिन्।

रेखा दिल्ली भाजपा महिला मोर्चाकी महासचिव पनि हुन् । २००४ देखि २००६ सम्म उनी भारतीय जनता पार्टीको युवा मोर्चाको राष्ट्रिय सचिव थिइन्।

उनले दिल्ली विश्वविद्यालयबाट बी.कम र एलएलबी गरेकी छन् । १९९८ मा उनले दिल्ली निवासी मनिष गुप्तासँग विवाह गरेकी थिइन् ।

बिहिबार, ०८ फागुन, २०८१, बिहानको ०९:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर