विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म हुने आठौ सस्करणको विराट एक्स्पो नयाँ लगानीकर्ताहरुका लागि विशेष बनाउने गरी आयोजकले तयारी गरेको छ ।
नयाँ लगानीकर्ताले उद्योग व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने गुणस्तरीय व्यवस्थापन प्रणालीका वारेमा एक्स्पोमा विस्तृतमा जानकारी दिने आयोजकले जनाएको छ ।त्यसकालागि आयोजक उद्योग संगठन मोरङले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको सुरुवाती चरण अन्र्तगत एक्स्पो स्थलमा गुणस्तरीय व्यवस्थापन प्रणाली र स्वः परीक्षणको व्यवस्था गरेको जनाएको छ ।
माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरु हुने एक्स्पोमा उद्योगी व्यवसायीले आफ्नो उद्योग, औद्योगिक प्रतिष्ठानहरुको गुणस्तर मापदण्ड प्रणाली अनुसार कस्तो अवस्थामा छ, अनुपालना गर्नु पर्ने प्रावधानहरुको पालना भएको छ छैन लगायत समग्र आफ्नो उद्योगको अवस्था एवं क्षमताका बारेमा स्वः गुणस्तरीय व्यवस्थापन प्रणालीको परीक्षण गर्न सक्ने छन् ।
एक्स्पो अवधिमा डिजिटल प्लेटफर्म मार्फत आफैं मोबाइल मार्फत आफ्नो उद्योगको व्यवस्थापकीय क्षमताको आंकलन गर्ने र त्यसको नतिजा तुरुन्त प्राप्त गर्ने व्यवस्था एक्स्पोले मिलाएको छ । यो स्वः परीक्षण नतिजाले गुणस्तर मापदण्डको प्रमाणपत्र प्राप्त गर्न गर्नुपर्ने काम र विषयका बारेमा जानकारी उपलब्ध गराउने आयोजकले जनाएको छ ।