विराटनगर । सुदूरपश्चिमबाट मौसममा बदली शुरू भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदली विस्तारै मुलुकभरि फैलिने महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले गएराति कर्णाली प्रदेशमा पनि फैलिएको र विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने जानकारी दिए । माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने उनले बताए ।
आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले बताए । आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको उनले जानकारी दिए ।
मौसममा बदली भएसँगै पुनः चिसो बढ्न शुरू भएको छ । गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाका मौसमविद् लामिछानेले बताए ।