कोशीमा काँग्रेसभित्र किचलो, कोइराला समूहको छुट्टै भेला

विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश समितिले प्रदेश सम्मेलन आयोजना गरेकोमा डा.शेखर कोइराला पक्षले त्यसअघि पालिका सभापतिहरूको भेला आयोजना गरेपछि काँग्रेसभित्र विवाद देखिएको छ ।

काँग्रेस प्रदेश समितिका सभापति संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौला निकट उद्धव थापा छन् । थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते पहिलो सम्मेलन गर्ने तय गरेकोमा मंसिर १८ र १९ गते प्रदेश राजधानी विराटनगरमा सभापतिहरुको भेला कोइराला पक्षले राखेको छ ।

प्रदेश समितिले पार्टीको पहिलो सम्मेलन मिति तय गरेपछि कोइराला समूहले त्यसअघि नै पालिका सभापतिहरूको भेला गर्न लागेको हो । सभापति भेलाको आयोजक भने मोरङका १७ वटै स्थानीय पालकिा कमिटि रहेको बताइएको छ ।
प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र अन्य पदाधिकारीहरूको पनि सहभागिता रहनेछ भने सभापतिहरुको भेलामा डा.कोइराला प्रमुख अतिथि हुनेछन् । प्रदेश सभापति उद्धब थापाले आफूहरु प्रदेश सम्मेलनको तयारीमा रहेको जानकारी दिँदै अर्को भेलाबारे केही जानकारी नभएको बताए । त्यस्तो आयोजना हुन लागेको हो भने त्यो अबैधानिक हुने उनले बताए ।

प्रदेश सम्मेलनमा प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । बन्दसत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले कांग्रेस कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्ने तयारी छ ।

कोइराला पक्षले आयोजना गर्न लागेको पालिका सभापतिहरूको भेलाको संयोजन गरिरहेका कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले पार्टीकै विधानमाथि छलफल गर्न भेला आयोजना गर्न लागेको बताएका छन् । कसैको दबाबले भेला नरोकिने उल्लेख गर्दै उनले पार्टीका पालिकास्थित समितिहरूले कार्यक्रम गर्दा जिल्लालाई जानकारी दिनुपर्ने प्राबधान रहेकोमा मोरङ जिल्ला कमिटिलाई जानकारी दिएको उनले बताए । मोरङ सभापति कोइराला पक्षकै डिगबहादुर लिम्बू छन् ।

मोरङका सबै पालिका कमिटिको आयोजनामा कोइराला भेला गर्न लागेको कोइराला पक्षले जनाएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा कोइराला समूहका पालिका सभापतिहरु मात्रै सहभागी थिए । कार्यक्रमको संयोजन चापागाईंले नै गरिरहेका छन् ।

पत्रकार सम्मेलनमा विराटनगरका सभापति चापागाईँ बेलबारीका सभापति छत्र लिम्बु, सुन्दरहरैचाका सभापति भक्तिप्रसाद सिटौला, कटहरिका सभापति रामकुमार कामतलगायतका नेता सहभागी थिए । उनीहरू सबै जना कोइराला समूहका हुन् ।
आयोजक समितिका संयोजक चापागाईँले भने आफूहरुले कुनै समूहको नभएर काँग्रेसका १३७ पालिकाका सभापतिको भेला गर्न लागेको बताए । ‘यो गुटको भेला होइन,’ उनले भने ‘शेखर कोइराला आउने भनेपछि त्यसरी हल्ला गरिएको हो । काँग्रेसलाई सुदृढ बनाउने योजना मात्रै हो ।’ काँग्रेस लबारीका सभापति छत्र लिम्बूले भने प्रदेश सम्मेलनमा बाइपास गर्न खोजिएको भन्दै आपत्ती जनाए ।

काँग्रेसभित्रको आन्तरिक किचलोको कारण कोशी प्रदेश सरकारमा समेत कोइराला समूह सहभागी भएको छैन । आफ्नो प्रदेशमा संस्थापन पक्षमाथि दबाब बढाउने रणनीति अनुसार पालिका सभापतिको भेला गर्न लागिएको नेताहरूले बताएका छन् ।

आइतबार, १६ मंसिर, २०८१, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर