‘दसैँ हर्ष एवम् उल्लास तथा विजयको पर्व हो । हिन्दू संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो । दसैँ पर्वले दश प्रकारका पापहरू– काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने (छोड्ने) प्रेरणा दिन्छ ।’ उल्लेखित उद्धरण दसैँबारे गुगलले व्यक्त गरेको विचार हो । दसैँ नेपालीहरुको घर–घरमा भित्रिसकेको छ । दसैँ नेपाली हिन्दू धर्मावलम्बीको मुख्य चाड पनि हो । नौ दिनसम्म चल्ने दसैँमा शक्तिकी देवी दुर्गाको पूजा आरधना गरिन्छ । आश्विन शुक्ल पक्षको प्रतिपदादेखि पूर्णिमासम्म चल्ने दसैँमा प्रतिपदादेखि नवमीसम्म प्रत्यक दिन देवीका नौ स्वरुपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदाको पूजा गरिन्छ । दशमीका दिन मान्यजनबाट टिका र जमरा लगाएर आशिर्वाद लिइन्छ । दसैँलाई बडा दसैँ, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले पनि बुझिन्छ । दसैँको विषयमा विभिन्न किम्बदन्तीहरु पनि छन् । दसँैका विभिन्न आयामहरु पनि छन् ।
तर, दसैँ कसले सुरु गर्यो ? दसैँ यही समयमा किन मनाइन्छ ? असोज–कार्तिकको यही सिजनमा दसैँ मान्नुपर्ने कारण के हो ? यही समयमा दसैँ मान्ने परम्परा कहिलेदेखि सुरु भयो ? यी प्रश्नहरुको जवाफ पनि फरक फरक हुनसक्छ । तर, दसैँ यही मौसममा मान्नुपर्ने केही सर्वमान्य कारणहरु रहेको संस्कृतिविद्हरु बताउँछन् ।
संस्कृतिविद् डा. सोम खतिवडाका अनुसार ६ वटा ऋतुमा सबैभन्दा आनन्दको ऋतु भनेको शरद र बसन्त ऋतु हो । शरद भनेको अहिलेको बेला हो । बसन्त ऋतु भनेको चैत–वैशाख हो । ‘चाडबाडहरु आनन्दका लागि, फुर्सद मनाउने पनि गरिन्छ । चाडबाड भनेको परदेशमा काम गर्न गएका आफन्तहरु आउने, भेटघाट हुने उल्लासमय दिन पनि हो । चाडबाड हाम्रा पुर्खाले सुरु गरेका हुन् । तर, यस्ता चाडबाडहरू कहिले सुरु भयो भन्ने कुनै आधार छैन,’ उनले भने, ‘चाडवाडहरु परम्परामा मानिँदै आएको हो । हामीले मनाउने चाडपर्वहरु अनिश्चित कालमा सुरु भयो । आजभन्दा १५ सय वर्षभन्दा अगाडिको लिखतहरुमा हामीले दशैं मान्ने गरेको प्रमाण पाउँछौं । त्यसबेलै दशैं मनाउँदै गरेको प्रमाण भेट्छौं ।’
उनले पहिले पहिले चैतमा दसैँ मान्ने गरेको बताए । ‘पहिले चाहिँ दसैँ चैतमा मनाइन्थ्यो भन्ने गरिन्छ । पछि गएर असोज–कार्तिकमा मनाउन थालियो । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि,’ खतिवडाले भने । चाडपर्वहरु खुसीयालीका अवसरहरू हुन् । दुःख परेको बेलामा उत्सव मनाइँदैन । आश्विन शुक्ल प्रतिपदादेखि नै किन त भन्ने कुरामा जवाफ दिँदै खतिवडाले भने, ‘बर्खा भनेको खेतिपाती गर्नुपर्यो । मान्छे एकदमै मरिमेटेर असार साउनमा काम गर्छ । त्यो बाली मंसिरमा भित्रिन्छ । त्यो वर्षभरी खान पाइन्छ । असोज कार्तिक भनेको खेतिपातीको काम पनि सकिएको । अन्नबाली पाक्दै गरेको उत्सव, हावापानी पनि राम्रो अर्को उत्सव, अर्को बाहिर जाने मानिसहरू पनि फर्किएर आउने उत्सवको संगम हो दसैँ ।’
नवदुर्गाको त्यही बेला पुजापाठ गरिनुको विषयमा आफ्नो तर्क सुनाउँदै उनले भने, ‘किन नवदुर्गाको पुजा गर्नुपर्यो त ? भन्ने सन्दर्भमा फेरि यो चाहिँ शक्ति आर्जन गर्ने कुरा हो । बर्खामा मानिसहरु काम गरेको हुन्छ, गलेको हुन्छ, शक्ति क्षिण हुने भयो । हिलोमैलो हुन्छ । खान राम्रो पाइराखेको हुँदैन । त्यसैले देबीको पूजा गर्ने, देवीलाई बलि दिने र बलि दिएको चिज आफूले पनि खाने र शक्ति आर्जन गर्ने । बाहिरको मान्छे पनि आउने भएको हुनाले असोज–कार्तिक नै दसैँलाई रोजिएको हो ।’
विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरका मठाधिश अच्युत प्रपन्नाचार्यले पनि दसैँ यही समयमा मनाउनु पर्ने कारण खुलाए । ‘दशैंको दुईवटा परम्परा छ । एउटा रामायणसँग सम्बन्धीत छ । अर्को देवीको परम्परा छ । यो कहिले भन्दा आश्विन शुक्ल पक्षलाई लिने गरिन्छ । अर्को परम्परा भनेको गोपी र भगवान श्रीकृष्णको लिलासँग सम्बन्धीत परम्परा छ । त्यो एकादशीदेखि पूर्णिमासम्म छ । खासगरी शरद ऋतु आफैंमा पवित्र ऋतु हो । शरद ऋतु मध्यम ऋतु पनि हो,’ उनले भने, ‘अर्को कारण भनेको वर्षायाम सकिएको हुन्छ । अनि हिउँदको ठिक्क सुरुवातको बेला पनि हो । प्रायः गरेर पहिले पहिले ८ महिना कर्म गर्ने र ४ महिना बसेर खाने चलन थियो । साउन, भदौ, असोज र कार्तिक बसेर खाने चलन हो । यो समयमा चाहिँ बाढी, पहिरो, वर्षाको कारणले घरबाट बाहिर नजाने, तिर्थ नजाने, परदेश नजाने भन्ने चलन थियो । ऋषि, महर्षिहरु पनि चतुर्मास गरेर एकै ठाउँ बस्ने गर्दथे । वर्षायाम पछि हिउँदयाम लाग्न आँट्यो । यतिबेला सबैजना भेला हुने । वर्षभरीका सुखदुःखलाई एकापसमा साटासाट गर्ने, केही यज्ञ अनुष्ठान गर्ने समय पनि हो । वर्षका अरु दिन काममै ध्यान हुन्छ । सबै भेला भएर अनुष्ठान गर्दा सन्तुष्टी पनि मिल्छ । त्यसकारण नै यही समय छनौट गरिएको हो ।’