विराटनगर । पछिल्लो समय दशैँ बहिस्कारको बहस खुब चल्न थालेको छ । यसलाई आदिवासी समुदायको मौलिक पर्व नभएको भन्दै दशैँ बहिस्कारको विषयमा समाजिक सञ्जालदेखि भौतिकरुपमा बहसको विषय बन्दै गएको छ । हिजोका दिनहरुमा दशैँ मान्दै आएकाहरुले पनि कतिले टीका लगाउन छोडिसकेका छन् भने कतिले सेतो टीका लगाएर दशैँ मनाउने गरेका छन् ।
पूर्वी पहाडी जिल्ला ईलाम, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम जिल्लामा बसोबास गर्ने आदिवासीहरुले कतिले सेतो टीका लगाएर दशैँ मनाउने भएपनि पछिल्लो समय आफ्नो पर्व नभएको भन्दै त्यति महत्वका साथ मनाउन छोडेका छन् । आफ्नो थातथलो छोडेर मिश्रित समुदायमा बसोबास गर्दै आएका आदिवासी समुदायले भने रातो टीका लगाउँदै आइरहेको छन् । तर, दशैँ बहिस्कारको बहसले टीका लगाउने कि नलगाउने भन्ने विषयमा उनीहरु पनि दोधारमा छन् । इलाम थातथलो भई हाल विराटनगर–१२ बस्दै आएका सुरञ्जन लिम्बू पहिले त दशैँमा रातो टीका नै लगाउने गरको सुनाउछन् । तर, अहिले भने घरमा सेतो टीका लगाउन सुरु गरेको बताउने उनी मामाघर जाँदा भने रातो टीका लगाउने गरेको बताउँछन् । उनको आमा र बुवको अन्तरजातीय विवाह भएकाले आफ्नोसँगै आमाको पनि संस्कार र संकृतिलाई मान्नु जरुरी रहेको उनले सुनाए ।
‘हामी पहिले चाँही घरमा पनि मामाघरमा पनि रातो टीका नै लाउथियौं, अहिले घरमा सेतो टीका लगाउछौँ मामाघरमा रातो,’ उनले भने, ‘आमा र बुवाको अन्तरजातिय विवाह भएकाले आमाको आस्था र परम्परालाई पनि हामीले एकै साथ लग्नुपर्ने हुन्छ ।’ थातथलो ताप्लेजुङ भएपनि बाजेबोजु मधेस झरेपछि मोरङको कानेपोखरीमा हुर्किएकी सौन्दर्यकर्मी भलि सुब्बाको परिवारमा भने रातो टीका लगाएर नै दसैँ मनाउँने चलन छ । मिश्रित समुदायमा हुर्किएको भएर पनि सोही अनुसार चाँडपर्व मनाउँदै आइरहेको उनले बताइन् ।
व्यवसायी रहेका मोरङको बेलबारीका सन्दिप राईको परिवारमा भने दशैँमा टीका लगाउने चलन छैन । बाजे सत्यहाङ्मा भएकाले उनैको शीर राख्नलाई मात्रै खरानीको टीका दशैँमा आर्शिवाद स्वरुप लगाउने गरको उनी बताउँछन् ।पाँचथरका सन्देश सुब्बा हाल धनकुटामा रेडियो नेपालमा कार्यरत पत्रकार हुन् । उनले शास्त्रीय मान्यता अनुसार विधिपूर्वक टीका लगाएर दसैँ मनाएका छैनन् । तर, दसैँलाई सरकारले मान्यता दिएर लामो छुट्टी दिने भएको कारण छुट्टीको समय साथीभाईसँग भेटघाट गरेर दसैँ मनाउँदै आइरहे उनले बताए ।
कवि चन्द्रवीर तुम्वापो आदिवासी जनजातिमध्येका लिम्बू जातिहरुको मुन्धुम अनुसार दसैँबारे उल्लेख नभएको र इतिहासमा पनि नभएको तर्क राख्छन् । हालसम्मको तथ्य अनुसार दसैँ लिम्बू समुदायको पर्व नभएको उनको जिकिर छ । ‘पृथ्वीनाराण शाहको गार्खा राज्य विस्तारपछि दसैँ मनाउन थालेको देखिन्छ,’ उनी भन्छन्, ‘त्यसपछि सेतो टीका जमराको प्रयोग हुन थाल्यो । सेतो कलर लिम्बू समुदायको हो र चामल, धान संस्कृति आदिवासी जनतजातिहरुको हो ।’ कवि तुम्बापोका अनुसार उनले दसैँमा टीका लाउन छोडको करिब १८ वर्ष भएको छ ।
लिम्बू पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष एवम् अग्रज पत्रकार देवेन्द्र खापुङका अनुसार आदिवासी जनजातिहरु प्रकृतिपुजक भएकोले त्यसैले प्रकृतिबाट उब्जिएको कुरा प्रकृतिलाई नै चढाएर र ढोगेर खाने प्रचन शुरु भएको छ । ‘जहाँसम्म दसैँको टीकाको विषय दशैँ अन्नबाली पाक्ने बेलामा आउने चाड हो र याक्थुङहरुले मान्ने चासोक पनि यसैबेला पर्छ’ उनी भन्छन्, ‘तसर्थ निधारमा टाँसेर हर्षोल्लास मनाउने चलन थियो होला । पछि हिन्दुहरुले धार्मिक चाड बनाइदिए, दुर्गाभवानीको कथा जोडिदिए ।’ असुरलाई मारिएको रगतको टीकाको संज्ञा दिएको कारण रातो र सेतेको भेद भएको हुनसक्ने उनको तर्क छ ।
याक्थुङ लेखक संघका केन्द्रीय महासचिव मधु केरुङ्का अनुसार आदिवासी जनजाति याक्थुङ्को दर्शनशास्त्र मुन्धुमले रंगको विभेद गर्दैन । आदिवासी जनजातिले सबै रंगहरुलाई समान ठान्ने गरेको बताउदै उनले समयक्रममा साँस्कृतिक÷धार्मिक प्रयोगहरुमा सेताको बढी प्रचलन बढेर आएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘सेतो रंग अहिंसा, सत्य, विद्या र शान्तिको प्रतिक हो भन्ने मानकता स्थापित हुनगयो ।’ पछिल्लो समय दशैँ बहिस्कारको बहसले सेतो टीका लगाउँदै आएकाहरुले पनि लगाउन छोड्दैछन् नि भन्ने प्रश्नमा उनले दसैँको टीकासँग याक्थुङ जातिको सम्बन्ध नै नभएको तर्क राख्नछन् । त्यसैले टीका सेतो लगाँने कि रातो भन्ने बहस नै निरर्थक रहेको उनको भनाइ । धनकुटा जिल्लामा मात्रै बसोबास रहेको आदिवासी जनजाति आठपहरिया समुदायले दसैँ नै मनाउँदैनन् । उनीहरुको आफ्नै मौलिक चाड रहेको आठपहरिया समाजका केन्द्रिय उपाध्यक्ष सुर्य आठहरियाले बताए ।
वि. सं. १८६७ सालमा दसैँ नमान्दा रामलिहाङ र रिदामा आठपहरियालाई धनकुटामा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । त्यो इतिहासको कारण यो समुदायले दशैँ नमनाउने गरेको बताइन्छ । तर, त्योभन्दा अगाडिदेखि नै समुदायमा दसैँ मनाउने चलन नरहेको केन्द्रिय उपाध्यक्ष आठपहरियाले बताए । ‘हामीले पहिलेदेखि दशै नमानेको अहिले पनि मानेको छैन’ उनले भने, ‘वर्षमा तीनवटा चाड आउछ । ती मात्र मान्छौं ।’ आठपहरिया समुदायको मुख्य चाड वाडाङ्मी रहेको र यो १५ दिनसम्म मनाइने गरेको उपाध्यक्ष आठपहरिया बताउँछन् । उनको अनुसार यस चाडमा पितृको सम्झना गर्दै एकापसमा शुभकामना साटासाट गरिने चलन रहेको छ । सुनसरीको बराहक्षेत्रमा गएर नुहाउने र सदस्य गुमाएका परिवारलाई यो चाडदेखि शुद्धशान्ति गरिने गरेको र खासगरी यो चाँडमा आठपहरिया जातिभित्रको हेम्वारक, छिर्लिङ, खावाडो तीनपक्ष अर्थात पुस्ताको डल्ले नाच समेत नाचिने गरेको उनको भनाइ छ ।
परिवारका सदस्यको मृत्यु भएको दुःखको पीडालाई सप्तकोशी, कोकाहाखोला र तमोरमा बगाउने चाडको रुपमा समेत यो चाडको विशेष महत्व रहेकाले यो आठपहरियाको दसैँभन्दा महत्वपूर्ण चाड रहेको उनको तर्क छ ।