विराटनगर । सुनसरीको धरानमा खानेपानी महशुल वृद्धिको विरोध गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी ३ जना घाइते भएका छन् ।
धाइते हुनेमा प्रदर्शनकारी २ जना र एक जना प्रहरी रहेको नेकपा (माओवादी केन्द्र) धरानका अध्यक्ष मनोज भट्टराईले जानकारी दिए ।
बिहीबार आन्दोलनमा उत्रिएका धरानका १० राजनीतिक दलका कार्यकर्ताले धरान उपमहानगर पालिका कार्यालयको बोर्ड फाल्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा प्रदर्शनकारीले उपमहानगर प्रमुख हर्क साम्पाङविरुद्ध नाराबाजी गरेका थिए ।
साम्पाङले गत साउन १ गतेदेखि लागू हुने गरी खानेपानीको महशुलमा भारी वृद्धि गरेका थिए । त्यसका विरुद्धमा १० राजनीतिक दलहरुले धरानको खानेपानी बोर्डको कार्यालय र महसुल काउन्टरमा ताला लगाएका थिए । उक्त ताला खोल्न उच्च अदालतले आदेश दिएको थियो । अदालतको आदेशपछि ताला खोलेर आन्दोलनकारीहरु उपमहानगरपालिका घेराउ गर्न पुगेका हुन् ।
यसैबीच आन्दोलन चर्किदै जाँदा प्रमुख साम्पाङले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध लागेको नाराको प्रतिक्रिया दिँदै आफूले खानेपानीको समस्या समाधान गर्नका लागि गरेको पहल र प्रयत्नलाई विश्वले सम्मान गरेको बताएका छन् । ‘जसको निम्ति दिनरात एक बनाएर श्रम गरिरहें जस्को घरमा आउने पानीको नाला फटाहा विरोधीहरुले जलाइदिँदा जङ्गलमै बास बसी–बसी कति रात कति दिन आगो निभाएँ, जसको सबै खाले सेवा सुविधा र अधिकारका लागि म दिनरात सोचिरहें र श्रम गरिरहें तिनै जनताले आज हर्क साम्पाङ मुर्दावाद ! हर्क साम्पाङ मरिजावोस भनेर नारा लगाको सुन्दा खुसी लागेन भन्न मिल्दैन मैले,’ उनले भनेका छन्, ‘विश्वले सम्मान गरिसकेको श्रमदाता हुँ म ! मैले गरेको हरेक श्रमले धरान र देशको उन्नति चाहेको छ ।’
आफूले भ्रष्टाचार नगर्नु, इमान्दार बन्नु र सबैलाई इमान्दार बनाउन खोज्नु गल्ती गरेको मेयर साम्पाङले बताएका छन् । ‘मलाई थाहा छ फोहोरी राजनीतिको खेल तर त्यो फोहोरी राजनीतिलाई सफा बनाउन आएको व्यक्ति हुँ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसैबीच आन्दोलन चर्किदै जाँदा साम्पाङले आन्दोलनरत पक्षलाई वार्ताका लागि मौखिक आग्रह गरेका छन् । नेपाली काँग्रेस धरानका सभापति श्यामप्रसाद पोखरेलले वार्ताको लागि मौखिक आग्रह गरेको भएपनि लिखित रुपमा आउनुपर्ने बताए । ‘विद्यार्थीमाथि प्रहरीले धरपकड गरेको छ । मानिसहरु घाइते भएका छन् । यो विषयमा हर्क साम्पाङले स्पष्ट नपारेसम्म हामी आन्दोलन जारी राख्छौं,’ उनले भने ।
नेकपा (माओवादी केन्द्र)का धरान अध्यक्ष मनोज भट्टराईले आफूहरुको माग खानेपानी महशुल वृद्धिको निर्णय खारेज गर्ने भएको कारण त्यसभन्दा दायाँबायाँ नगर्ने बताए । ‘उहाँले वार्तामा बोलाएको कुरा आएको छ । लिखित रुपमा आउनु पर्यो र निःशर्त रुपमा खानेपानीको शुल्क वृद्धिको निर्णय खारेज गर्नुपर्यो ,’ उनले भने । खानेपानीमा अस्वभाविक मूल्य वृद्धि गरेको विरोधमा सुनसरी धरानका स्थानीय केही दिनयता आन्दोलित बनेका छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।