विराटनगर । कामको सिलसिलामा घुम्दै जाँदा विराटनगरस्थित गुद्री बजार आसपासको गल्लीमा पाइला मोडियो । जाँदाजाँदै त्यही साँघुरो गल्लीको मोडमा एउटा बोर्ड भेटिन्छ । जहाँ लेखिएको छ, ‘यहाँ सेलरोटी, सुख्खा रोटी, आलु पराठा, चिया, अनर्सा, चटपटे आलुनिम्की पाइन्छ । साथै विवाह पूजाको लागि अर्डर लिइन्छ ।’
त्यही बोर्ड हेर्दै पसलभित्र प्रवेश गर्दा ५६ वर्षकी आमा तातो रापमा सेलरोटी बनाउँदै आउनेजाने ग्राहकको भोक मेट्दै गरेको भेटिइन् ।
तराईको प्रचण्ड गर्मी अनि आगोको तातो रापमा सेलरोटी बनाउनु त्यति सहज नहुँदो हो । तर पनि आफूले घरमा गरिराखेको कामलाई व्यवासायिकरुपमा अगाडि बढाउने निधो गरेकी विराटनगर–९ की देवी आचार्य कामलाई समान्यरुपमा नै लिने गरेको सुनाउँछिन् ।
‘आमा हामी पनि सेलरोटी खाने नि है ?’ भन्ने आग्रहसँगै आरम्भ भएको हाम्रो संवादलाई शब्दमा जोड्न चाहें । २ बजेपछि नास्ता खान आउनेजानेहरुको भीडले त्यति धेरै गफिन नसकेपनि भावि दिनको योजनाका विषय भने खुलेर ‘सेयर’ गर्न भ्याइन् ।
गत माघ १ गतेदेखि ५ किलो पिठोबाट सुरु गरेको सेलरोटी बनाउन अहिले दैनिक ७ देखि ८ किलोसम्म जाने गरेको हाँस्दै सुनाउँछिन् । उनी भन्छिन्, ‘जाडो महिनामा अझ धेरै जाने रहेछ । त्यो समय कहिलेकाँही त १२ किलो पिठोको रोटी बेच्न सफल भएकी छु ।’
रोटीको फन्को लगाउँदै घरिघरि छोरालाई ग्राहक हेर्न अह्राउँदै पराठा पनि बनाउन भ्याउछिन् । यस्तो जाँगर कहाँबाट आउँछ आमा ? भन्ने प्रश्नमा उनी सुनाउँछिन् , ‘सकुन्जेल गर्नुपर्छ नि ! बुढेसकाल लाग्यो भन्दै बस्दा झन् अल्छी भइन्छ ।’
त्यसो त यसअघि घरैबाट विवाहका लागि चाहिने माला बनाएर कोशी प्रदेशको विभिन्न जिल्लामा पठाउने काम उनले गर्ने गरेकी रहेछन् । १८ वर्षको उमेरमा उदयपुर जिल्लाको गाइघाटबाट विराटनर बुहारी भएर भित्रिएकी देवी परिवार र पतिलाई आर्थिक साथ र आत्मनिर्भर बन्न बिवाहपछि सीपमूलक काम गर्न थालेको सुनाउँछिन्् ।
अब थालेको व्यवसाय अहिले छोराका लागि ब्राण्डिङ गरिदिन उनको योजना हाँस्दै सुनाइन् । दश वर्षपछि वैदेशिक रोजगारीबाट फर्किएको एक्लो छोरालाई गरिखानेबाटो बनाइदिन पनि यो व्यवसाय अपनाएको उनको भनाइ थियो ।
‘छोरा १० वर्षपछि विदेशबाट नेपाल फर्कियो, अब के गर्ने त भन्ने सोच बनाउँदा बनाउँदै आफंले जानेको सीपलाई व्यावसायिक ढंगले अगाडि बढाएको हो,’ उनले सेलरोटी घुमाउँदै सुनाइन्, ‘बाबुले पनि मेरो प्रस्ताव र सल्लाहलाई स्वीकार ग¥यो र उसले पनि साथ दिइरहेको छ ।’
पसलमा बैंकका कर्मचारी र अरु धेरै ग्राहकहरु नास्ता खान आउने गरेका छन् । कतिपयको अर्डर बमोजिमको परिकार बनाएर दिने गरेको उनी बताउँछिन् । ‘मेरो लक्ष्य यति मात्रै होइन, बोर्डमा लेखिएको सबै खालको परिकार यहाँको ब्राण्ड बनाउने विचार हो, अब हेरौँ ।’ हामी तर्फ हेर्दै उनले भनिन् ।
त्यसो त उनको हातबाट बनेको सेलरोटी भारतको जोगबनी, सिलिगुडी, फारविसगञ्जसम्म कोसेलीको रुपमा पुग्ने गरेको रहेछ ।अब त दिनदिनै आराम गर्ने उमेर भयो योजना अनुसार काम गर्न सक्नुहन्छ त ? भन्ने प्रश्नमा उनले एकै शब्दमा उत्तर फर्काइन्, ‘अझै १० वर्षसम्म सक्छु ।’शरीर र स्वास्थ्यले साथ दिएसम्म काम गर्ने आत्मबल साँचेकी देवीको विचारमा अरुकोमा काम गर्नुभन्दा आफ्नैमा काम गर्दा जीवनभरका लागि हुने उनी सुनाउँछिन् ।
आम्दानीको विषयमा सोध्दा भने उनले मन्द मुस्कानसहित भनिन्, ‘कहिले सबै बिक्री हुन्छ, कहिले उभ्रिन्छ, यस्तै छ हौ नानी ।’ बिहानको १२ बजेदेखि पसल सुरु हुनेरहेछ । घरैबाट पिठो, समाना ल्याएर ताजा परिकारको स्वाद चाख्न हामी जस्तै बोर्ड हेर्दै जाने ग्राहकसँगै बोर्डमा राखिएको फोन नम्बरमा सम्पर्क गरेर अर्डर गर्नेहरु विभिन्न ठाउँबाट आउने गरेको उनले सुनाइन् । त्यसरी अर्डर गरेको सामान लिन भने सम्बन्धित व्यक्ति नै पुग्ने गरेको उनले बताइन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।