लोड हुँदैछ...

मेनु

कोशी प्रदेश :

कांग्रेस मन्त्री पठाउनै सक्दैन, काम कसरी गर्छ ?

कांग्रेस मन्त्री पठाउनै सक्दैन, काम कसरी गर्छ ?

विराटनगर । गत असार १७ गतेको सहमति अनुसार केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन सरकार असार ३० गते नै गठन भइसकेको छ । जसअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । ओलीले आफू नियुक्त भएको भोलिपल्टै असार ३१ गते नै २१ जना मन्त्री नियुक्त गरे । जसमा कांग्रेसका तर्फबाट १० जना मन्त्रीले एकैपटक शपथग्रहण गरेका थिए ।

केन्द्रमा मन्त्री पठाउन फटाफट निर्णय गरेको कांग्रेस कोशी प्रदेशमा भने मन्त्री पठाउनै सकेको छैन । कांग्रेसले मन्त्री पठाउन नसक्नुको प्रमुख कारण पार्टीको आन्तरिक शक्ति संघर्ष रहेको जनाउँदै आएको छ । कतिपय कांग्रेसकै नेताहरु भने पार्टी सभापति र केन्द्रीय नेताहरुले प्रदेशमा कम चासो दिएका कारण सरकारमा पठाउने नामहरु दिन ढिला भएको दाबी गर्छन् ।

कांग्रेसको आन्तरिक शक्ति संघर्ष चर्किँदै जाने देखेरै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रलाई तत्कालै सरकारबाट नहट्नु भन्ने सन्देश दिएका थिए । तर, माओवादी केन्द्र आफ्नै आन्तरिक दबाब, कांग्रेसको चाहना र मुख्यमन्त्री कार्कीको आग्रहमा गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । माओवादी सरकारबाट बाहिरिएसँगै तत्कालै मन्त्रीमण्डल विस्तार हुने मुख्यमन्त्रीको अपेक्षा थियो । तर, अझै कांग्रेसबाट मन्त्री मण्डलमा सहभागी हुने दिन लम्बिने कांग्रेसकै नेताहरू बताउँछन् ।

कांग्रेसले मन्त्रीहरूको नाम दिन नसक्नुको अन्य कारण पनि हुनसक्ने हुनसक्ने केही नेता आशङ्का गर्छन् । जुन आशङ्का दलका नेता परिवर्तनको सम्भावनालाई जीवित बनाउने विषयसँग सम्बन्धीत छ । कतिपय कांग्रेसका सांसदहरु मन्त्री बन्ने लविङका लागि काठमाडौंको होटल बुक गरेर बसेका छन् । ‘कांग्रेसको आन्तरिक कुरा नमिलेको हो । अर्को कुरा अन्य प्रदेशको कुरा पनि मिलेको छैन,’ कांग्रेसका सांसद रामकुमार खत्रीले भने, ‘अन्य कारण केही नयाँ होला जस्तो त लाग्दैन ।’

डाक्टर शेखर कोइरालाले यसअघि आफ्नै गुटबाट कोशी प्रेशको मुख्यमन्त्री र अन्य मन्त्रीहरु पनि पाएका थिए । ‘हिंजोअस्ति त्यत्रो शक्तिका साथ कोशी प्रदेश चलाएको समूहले अहिले टक्रक्क एउटा मन्त्री लिएर जाँदा बेइज्जत हुँदैन ?,’ कोइराला निकट एक नेताले भने, ‘शेखर कोइराला र शेरबहादुरकै बीचमा भागबण्डा नमिलेकै कारण समस्या भएको हो ।’

कतिपय कोइराला समूहका नेताहरुले माओवादीलाई दिएका मन्त्रालयमा एक मन्त्रालय मात्रै लिएर भागबण्डा गर्ने सहमति गर्नु नै दलका नेताको असक्षमता भएको बताउँछन् । ‘मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग दलका नेता उद्धव थापाले भावी मुख्यमन्त्री आफैं बन्ने हिसाबले बार्गेनिङ नगरी एमालेसँग चार वटा मन्त्रालय लिएर जाने सहमति गरेको कुरा पनि त्यति चित्त बुझ्दो देखिएन,’ ती नेता भन्छन् ।

कांग्रेसको पदाधिकारीहरुबीच यसअघि मन्त्री भएकाहरुलाई मन्त्री नबनाउने भनेर भद्र सहमति भएको बताइएको छ । तर, सुदुरपश्चिम प्रदेशमा कमलबहादुर शाही दोहो¥याएर मुख्यमन्त्री बनेका छन् । रोज राणा दोहो¥याएरै मन्त्री बनेका छन् । कोशी प्रदेशमा चाहिँ किन दोहो¥याउन नहुने ? भन्ने प्रश्न पनि त्यतिकै उठेको शेखर समूहकै नेताहरू बताउँछन् ।

केही नेताहरु भने मन्त्री बनाउने विषय ढिलो भएको भनेर प्रश्न उठ्न थालेको भन्दै दिक्क मान्छन् । ‘कांग्रेस मन्त्री बनाउँदा बनाउँदा थाकेको पार्टी हो । १५ सालदेखि कति मन्त्री बनायो बनायो ? कति बनाउनु ?,’ कांग्रेसका एक सांसदले भने, ‘अब चार पाँच दिनमा टुंगो लाग्छ कि ? प्रदेशमा भर्खरै छलफल सुरु भयो । अब पनि ढिलो गर्दा मन्त्री बनाउनै नसक्नेले कसरी प्रदेश बनाउँछ भन्ने प्रश्न उठ्न सक्छ ।’ कांग्रेसको केन्द्रीय समितिको बैठक बुधबारदेखि सुरु भएको छ । कांग्रेस सांसद भुपेन्द्र राईले भने केन्द्रीय समितिको बैठक सकिए लगत्तै कोशीको सरकारमा सहभागी हुने मन्त्रीको नाम आउने दाबी गर्छन् ।

दल नेता फेरबदलको दाउपेच चलिरहेको छ ?

कांग्रेस स्रोतका अनुसार अहिले सरकारमा पठाउने नामको टुंगो लागेपछि अर्को खेल सुरु हुनसक्ने देखिएको छ । ‘मन्त्रीमण्डल बनेपछि दलको नेता फेरबदल हुने नहुने अवस्था क्लियर हुन्छ,’ दल नेता परिवर्तन हुनसक्ने तर्फ संकेत गर्दै उक्त स्रोत भन्छ, ‘उद्धव थापा दलको नेता सुरक्षित रहने गरी मात्रै मन्त्रीको नाम सिफारिस गर्न चाहन्छन् ।’ दल नेताको रुपमा थापालाई अहिलेको परिस्थितिमा पार्टी सभापति देउवाले पनि त्यति नरुचाएको उक्त स्रोत दाबी गर्छ । ‘उद्धव थापाप्रति अहिले नै पार्टी सभापति शेरबहादुर देउवा सन्तुष्ट रहेको देखिँदैन । त्यस्तो अवस्थामा संसदीय दलका नेता प्रदिप सुनुवार र अमृत अर्यालमध्ये एक जना हुनसक्ने देखिन्छ,’ उनले भने । यद्यपि अमृत अर्याललाई भन्दा सुनुवारलाई देउवाले बढी विश्वास गर्ने बताइन्छ ।

एमालेसँगको भागबण्डा अनुसार अर्को सरकार बन्दा कांग्रेसले मुख्यमन्त्री पाउने निश्चित छ । त्यस्तो अवस्थामा कांग्रेसबाट दलका नेता नै मुख्यमन्त्री बन्नेछन् । ‘त्यसो हुँदा भावी मुख्यमन्त्री र दलको नेता परिवर्तन गर्नसक्ने सम्भावनालाई जिवितै राख्ने गरी कांग्रेसभित्र गतिविधि भइरहेको हुनसक्छ,’ उक्त स्रोतले भन्यो ।

कांग्रेसमा प्रदिपकुमार सुनुवार र हिमाल कार्कीलाई ब्याक गरेर अमृत अर्यालको नेतृत्वमा सरकारमा पठाउने सम्भावना पनि रहेको एक सांसद बताउँछन् । ‘एमाले नेतृत्वको सरकारको नेतृत्व गर्दै अमृत अर्याल जाने सम्भावना बलियो बन्दै गएको छ,’ कांग्रेसका एक सांसद भन्छन्, ‘त्यसका लागि सभापति देउवाले उदयपुर कांग्रेसका सभापतिसमेत रहेका सांसद हिमाल कार्की र ओखलढुंगाका सांसद प्रदिपकुमार सुनुवारलाई पन्छाउनु पर्छ ।’

उदयपुरका कार्कीले केही दिन अगाडि पार्टीका महामन्त्री गगन थापालाई प्रमुख अतिथि बनाएर जिल्लामा कार्यक्रम गरेको विषय शेरबहादुर देउवाले ‘नोट’ गरेको बताइएको छ । यस्तै सुनुवार यसअघि पनि मन्त्री बनिसकेका सांसद हुन् । मन्त्री बनेकालाई नदोहो¥याउने विषय कार्यान्वयन भए अर्यालको पोल्टामा स्वतः मन्त्री पद आउन सक्ने ती सांसदको विश्लेषण छ ।

यद्यपि अर्यालसँग पनि केदार कार्की नेतृत्वको सरकार बर्खास्त गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटमा गएको विषयले कोइराला पक्ष रुष्ट छ । कोइराला पक्षले दह्रो अब्जेक्सन गरेको खण्डमा अर्याल मन्त्री बन्ने लाइनबाट आउट पनि हुन सक्छन् ।

उता, शेखर कोइराला पक्षबाट दुई जना मन्त्री बन्ने हुँदा मानबहादुर लिम्बू र गोविन्द गिरीको सम्भावना बलियो बनेको छ । एक जना मात्रै मन्त्री बन्दा को बन्ने भन्ने विषय फेरि अर्को विवादको विषय बन्ने देखिएको छ । कोइराला समूहबाट रामकुमार खत्री पनि मन्त्री बन्ने दौडमा छन् । तर, उनलाई रोक्न पुरानालाई नदोहो¥याउने भन्ने कार्ड फालिएको छ । उता, ओखलढुंगाका प्रदिपकुमार सुनुवारलाई पनि मन्त्री नबनाउने अवस्थामा कोशी पहाडी जिल्लाबाट भुपेन्द्र राई मन्त्री बन्ने सम्भावना बलियो बन्दै गएको छ । मोरङबाट मानबहादुर लिम्बू मन्त्री बन्ने परिस्थितिमा सिटौला समूहबाट भीम पराजुली भने रिङ आउट हुने सम्भावना पनि छ ।

अहिलेसम्म कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, डाक्टर शेखर कोइराला समूहबाट एक जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जना मन्त्री बनाउने गरी छलफल भइरहेको बताइएको छ । जसका लागि देउवा समूहबाट दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री प्रदिपकुमार सुनुवार र सांसद खगेनसिं हाङ्गाम रहेका छन् । शेखर कोइराला समूहबाट भने मोरङका मानबहादुर लिम्बू, उदयपुरका रामकुमार खत्री र इलामका गोविन्द गिरी मन्त्री बन्ने चर्चा छ ।

यस्तै नेता सिटौला समूहबाट मन्त्री बन्ने लाइनमा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका विराटनगर महानगरपालिकाका पूर्व प्रमुख भीम पराजुली र खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका भुपेन्द्र राई रहेका छन् ।
कोशी प्रदेशमा हाल भौतिक पूर्वाधार विकास, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय मन्त्री बिहीन छन् । नौं वटा मन्त्रालय रहेको प्रदेशमा मुख्यमन्त्री र चार मन्त्रालय एमालेको भागमा रहेको छ भने चार मन्त्रालय कांग्रेसको भागमा रहने सहमति भइसकेको बताइएको छ । एमालेले भने आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, सामाजिक विकास र खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयमा क्रमशः रामबहादुर मगर, लिलाबल्लभ अधिकारी, पाँचकर्ण राई र एकराज कार्की मन्त्री रहेका छन् । यस्तै एमालेबाटै सिर्जना राई राज्यमन्त्री नियुक्त भएकी छिन् । संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेशसभाबाट मुख्यमन्त्री कार्की तेस्रो पटक वैशाख २७ गते मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।