विराटनगर । विराटनगर १८ लावाघाटका ५८ वर्षीय महेशलाल मण्डलले सुनिल साहसँग २०६८ सालमा चार कठ्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ कर्जा लिएका थिए । उनले ४ लाख ७० हजार रुपैयाँ तिरिसकेका थिए ।
सुनिलले अझै १९ लाख ९३ हजार रुपैयाँ बुझाएपछि मात्र जग्गा पास गरिदिने बताउँदै आएका थिए । मण्डल जग्गा आफ्नो नाममा ल्याउन एक वर्ष अगाडिदेखि संघर्षमा थिए । स्थानीय जनप्रनिधिदेखि प्रशासन र राजनीतिक दलका नेताहरुको उनी जग्गा फिर्ताको लागि दर्जनौं पटक गुहार माग्दै पुगे ।
मण्डलसहित लावाघाट र दिगादिगीका मिटरब्याज पीडितले प्रशासनमा उजुरी पनि दिए । उजुरी दिएपछि प्रशासनकोे छलफलमा मण्डल आफैं जाने गरेका थिए । उनको संघर्ष र दबाबकै कारण मिटरब्याजी सुनिल जग्गा फिर्ताको लागि तयार भएका थिए । तर, धनीपूर्जा हात पर्नुभन्दा १४ दिन अगाडि उनको दुःखद् निधन भयो ।
सुनिलको मिटरब्याजी धन्दाले पिरोलिएकै कारण श्रीमानले अकालमै ज्यान गुमाउनु परेको श्रीमती सुमित्रादेवी मण्डलको आरोप छ ।
मिटरब्याज धन्दाले पिरोलिएको र ऋणको बोझकै कारण अकालमै श्रीमानले ज्यान गुमाएको श्रीमति सुमित्रादेवी मण्डलले बताइन् । ‘गुमेको जग्गा फिर्ता आएपछि श्रीमानले धनीपूर्जा हेर्ने आशा गर्नुभएको थियो’ उनले भनिन्, ‘उहाँको त्यो इच्छा पुरा नभइ संसार छोडेर जानुभयो ।’
विराटनगर १८ लावाघाट मिटरब्याजीबाट पीडित भएकाहरूको टोल हो । यो टोलका आधा दर्जन बासिन्दालाई सुनिलले झण्डै उठीबास लगाएका थिए ।
मिटरब्याजीले जग्गा कब्जा गरेको विषयमा हाम्रोमत दैनिकले पटक–पटक समाचार प्रकाशित गरेको थियो । समाचारपछि जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा जग्गा फिर्ता भएको हो ।गुमेको जग्गाको धनिपुर्जा देख्न नपाए पनि महेशलाल गरेको सङ्घर्षले भने परिवार सहित टोलका पीडितहरूलाई भने राहत मिलेको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।