विराटनगर । कोशी प्रदेशको एक मात्र महानगरपालिका विराटनगरले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने घोषणा गरेको डेढ वर्ष भएपनि काम अगाडि बढेको छैन । तर, सुनसरीको इटहरी उपमहानगरपालिकाले भने सिटी बस सञ्चालनको लागि चार वटा विद्युतीय गाडि खरिद गरेर ल्याएको छ ।
२०७९ फागुनमै विराटनगरमा नगरबस सञ्चालनको तयारी भएको जानकारी मेयर नागेश कोइरालाले दिएका थिए । त्यसबेला मेयर, कोइराला, उपमेयर शिल्पा निराला कार्की र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहितले नगरबस सञ्चालन हुने रुटको परीक्षणसमेत गरेका थिए ।
महानगरले दुई–तीन महिनाभित्रै नगर बस सञ्चालनमा गर्ने घोषणा गरेको थियो । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क आवागमनको व्यवस्था गर्ने तथा महिला र विद्यार्थीलाई सहुलियतमा तथा सर्वसाधारणसँग पनि न्युन शुल्क लिएर वातानुकूलित नगरबस सञ्चालन गर्ने उपमेयर कार्कीले बताएकी थिइन् ।
प्रारम्भिक चरणमा १९ सिटी बस सञ्चालनको तयारी भएको र सो प्रक्रिया अन्तिम चरणम पुगेको महानगरले जनाएको थियो । महानगर प्रमुख कोइरालाको बस खरिद प्रक्रिया अगाडि बढिसकेको जानकारी दिएका थिए । महानगरपालिकामा नगर बस सञ्चालनका लागि विराटनगर यातायात प्रालिले अनुमति पाएको महानगरले जनाएको थियो । सो विषयमा महानगर प्रमुखको सचिवालयले प्राथमिकताको साथ प्रचार गरेको थियो । तर, रुट परीक्षण भएको डेढ वर्ष वितेपनि विराटनगरम नगरबस सञ्चालनको अत्तोपत्तो छैन ।
इटहरी उपमहानगरपालिकाले भने कुनै हल्लाखल्ला र प्रचारविनै चार वटा नगर बस खरिद गरेर ल्याइसकेको छ । इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । सबै तयारी सकेर असोज १ गतेबाट इटहरीमा नगर बस सञ्चालनमा ल्याउँने उनको भनाइ छ ।
चार वटा उनले बसले इटहरीको सबै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्ने उपमहानगरको तयारी छ । उपमहानगरले खरिद गरेका सबै बस विद्युतीय बस हुन् । बसमा जिपिएस जडानको साथै सूचनामैत्री बनाइने र सिसी क्यामेरासमेत राखिनेछ । नगर बस अपाङ्गमैत्री हुनेछ ।
नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको छ । यो समितिले नै रुट निर्धारण गर्नेछ ।
उपमहानगरले नेसनल फायर सेफ प्रालिसँग ४ वटा नगर बस किनेको हो । गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता भएकोमा पाँच महिनापछि बस आइपुगेको हो ।
इटहरी उपमहानगरपालिकाले निर्णय गरेको ६ महिनाभित्र नगरबस ल्याएर सञ्चालनको तयारी गर्दा नगरबस चलाउने घोषणा गरेको डेढ वर्षसम्म विराटनगरमा भने कुनै तयारी छैन । विराटनगर महानगर पालिका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष सन्तोष निरौलाले विराटनगरमा नगर बस सञ्चालनको योजना बनेपनि तयारी नपुगेकोले कहिलेबाट सञ्चालन हुन्छ भन्ने यकिन नरहेको बताएका छन् ।