विरारटनगर । राज्य र समाजले हेर्ने दृष्टि परिवर्तन नहुँदा सदियौंदेखि शिक्षाको मूलधार भन्दा बाहिर रहेका तराईका मुसहर समुदायका कयौं बालबालिकाहरु अझै पनि विद्यालय बाहिरै छन् । उनीहरुलाई विद्यालयसम्म ल्याउन सरकारले सञ्चालन गरेको अभियानहरु मुसहर समुदायमा भने सफल हुन सकेको छैन ।
सरकारले अतिविपन्न र दलित विद्यार्थीलाई सहयोग गर्न भन्दै विद्यालय भर्ना अभियान, विद्यालय खाजादेखि विभिन्न सहुलियत र सुविधा उपलब्ध गराइरहेको भए पनि यो समुदायमा त्यसले तात्विक प्रभाव पार्न सकेको छैन । त्यसका बाबजुद पनि विद्यालयको पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन टोलस्तरदेखि नै अभियान सुरु भएको छ ।
नेपाल राष्ट्रिय मुसहर संघलले टोल स्तरमा अभियान सञ्चालन गरेर मुसहर बालबालिकाहरुलाई विद्यालयसम्म पु¥याउन कामको सुरुवात गरेको हो । मुसहर संघका अध्यक्ष चन्देश्वर सदाका अनुसार कतिपय विपन्न परिवारले भने छोराछोरीलाई जेनतेन पढाउने गरेको भए पनि विद्यालय शिक्षालाई निरन्तरता दिन नसक्ने अवस्था रहेको छ ।
कतिपयका अभिभावक नै निरक्षर भएकाले आफ्ना सन्तानलाई शिक्षा दिन चासो दिएको देखिँदैन, उनले भने विपन्नताले विद्यालय भर्ना गर्न नसकिएको हो ।’आर्थिक समस्याका कारण पढाउन नसकेको केही अभिभावकको गुनासोलाई आत्मसाथ गरेर जनकपुरमा सबरी कुटी स्थापना गरेर संघले उच्च शिक्षाको लागि समेत सहयोग गर्न थालेको छ । यसले शिक्षाको मुलधारमा मुसहर बालबालिकालाई ल्याउने विश्वास उनीहरुको छ ।
मुसहर बालबालिका विद्यालय नआउनुको मुख्य कारण आर्थिक संकट भएको सदाले बताए । चेतनाको अभाव, आर्थिक विपन्नतालगायतका कारणले उनीहरू विद्यालय आउन रुचाउँदैनन् ’ उनले भने । नेपालको तथ्यांक अनुसार नेपालमा मुसहरको जनसख्या २ लाख ६५ हजार रहेको जनाएको छ । तर संघले भने ७ लाखको हराहरीमा मुसहर सुमदायको बसोबास रहेको र उक्त समुदायका ९५ प्रतिशत बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रहेको दाबी गरेको छ ।
शिक्षाको पहुँचभन्दा टाढा रहेका मुसहर समुदाय बिस्तारै शिक्षाको पहुँचमा जाने क्रममा भने केही वर्षयताबाट सुरु भएको छ । यद्यपि उच्च शिक्षाका लागि सरकारले आवश्यक सहयोग नगरेकै कारण त्यो संख्या उल्लेख्य रुपमा बढ्न भने सकेको छैन ।संघले अभियानसँगै मुसहर समु्दायबाट एसईई र सो भन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरुको तथ्यांक संकलन गर्ने काम सुरु गरेको सदाले बताए ।
उच्च शिक्षाको लागि संघले सबरी कुटीमा विद्यार्थीलाई खान बाहेक बस्नेलगायतका सुविधा निःशुल्क दिदै आएको छ । कलेज अध्ययनमा समेत संघले सहयोग गर्ने गरेको अध्यक्ष सदाले जानकारी दिए ।