चिकित्सक संघ कोशीको पदस्थापन

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाका नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन भएको छ ।
नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा.अनिलविक्रम कार्की र प्रमुख निर्वाचन अधिकृत प्राडा.हेमसागर रिमालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापन गराए ।

केही दिन अगाडि सम्पन्न भएको निर्वाचनबाट नेपाल चिकित्सक संघको कोशी शाखामा डा. राजेन्द्र चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको थियो ।
तीन वर्षका लागि डा. चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । कोशी चिकित्सक संघको वरिष्ठ उपाध्यक्षमा डा. नविनकुमार कर्ण, उपाध्यक्षमा डा.शिलव सेन श्रीवास्तव, महासचिवमा डा.बालकृष्ण साह निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै कोषाध्यक्षमा डा.सुनिल रेग्मी, स–सचिवमा डा.रामकुमार यादव, सह– कोषाध्यक्षमा डा. तेजेन्द्र कार्की छन् । यस्तै सदस्यहरुमा डा. कोपिला अग्रवाल, डा. प्रेक्षा दली, डा. अमरकुमार यादव, डा. रितेशकुमार सिंह, डा. जीवनाथ धमला र डा. राजाबाबु मण्डल रहेका छन् । संघको निर्वाचनमा अध्यक्षलगायत सबै निर्विरोध निर्वाचित भएका हुन् ।

पदस्थापन कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार क्रियाशील रहेको बताए । उनले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई जनमुखी स्वास्थ्य सेवा सहजरुपमा प्रदान गर्ने उद्देश्यले यसपालिको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको मुख्यमन्त्री कार्कीले बताए । सरकारले जनताको घर–घरमा स्वास्थ्य सेवा पु¥याउनका लागि के कस्तो नीति आवश्यक पर्छ भन्ने उद्देश्यले चाँडै कार्यदल गठन गर्ने उनले बताए । यसका लागि आवश्यक सुझाव दिन चिकित्सकलाई मुख्यमन्त्री कार्कीले आग्रह गरे ।

सरकारी स्वास्थ्य संस्थाको जीर्ण रहेको भौतिक संरचनालाई वलियो बनाउने कार्य सुरु गरेको जानकारी दिँदै कार्कीले यसै क्रममा विराटनगरमा सुविधा सम्पन्न आधुनिक प्रविधियुक्त प्रदेशस्तरीय प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षाको जिम्मा लिने बताउँदै समयमै जानकारी प्राप्त भएमा दोषीलाई कारवाही गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विचार व्यक्त गरे । चिकित्सकहरुले भौतिक र आर्थिक सुरक्षाको कुरा उठाएपछि उनले स्रोत र साधन हेरेर सरकार अघि बढ्ने जानकारी दिएका हुन् । उनले भौतिक सुरक्षामा भने कुनै कसर नराखी सरकारले काम गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता थियो ।

चिकित्सक संघ नेपालको पुरानो संस्था भएकाले योसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेकोे बताउँदै उनले कोशी प्रदेशलाइ स्वास्थको हब बनाउन सकिने बताए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले चिकित्सकको विदेश पलायन रोक्न आवश्यक सेवा सुविधा स्वदेशमा उपलव्ध गराउनु पर्ने बताए । संघका केन्द्रीय अध्यक्ष अनिलविक्रम कार्कीले व्यवस्था परिवर्तन भएपनि चिकित्सकको अवस्था परिवर्तन नभएको गुनासो गरे ।

शुक्रबार, १८ साउन, २०८१, बिहानको ०८:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर