विराटनगर । कोशी प्रदेशका उद्योगी व्यवसायीहरूले मुख्यमन्त्रीलाई भेटेर औद्योगिक वातावरण सुधार गर्न ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मुख्यमन्त्रीलाई भेटी वर्तमान आर्थिक संकट र मन्दीले उद्योग व्यवसाय क्षेत्रमा परेको प्रभावबारे जानकारी गराएको हो ।
प्रतिनिधिमण्डलले मुख्यतः तीन विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ । पहिलो, मालवाहक सवारी साधनमा लगाइएको अतिरिक्त कर र शुल्क हटाउनु पर्ने, संघीय सरकारले भन्सार विन्दुमा प्रत्येक मालवाहक सवारी साधनबाट १ हजार ५०० रुपैयाँ कर असुल्ने गरेको र कोशी प्रदेश सरकारले पनि सोही शीर्षकमा दोहोरो कर असुली गर्न थालेकोले त्यसले उद्योगको लागत खर्च बढाइ स्वदेशी उद्योगको संरक्षणमा असर पर्ने भएकोले हटाउनु पर्ने माग गरेको थियो ।
यसैगरी स्थानीय निकायहरूले पनि मालवाहक सवारी साधनमा ३०० रुपैयाँदेखि माथि विभिन्न शीर्षकमा पटके कर असुल गर्न थालेको जनाउँदै यस्तो अराजक अवस्था अन्त्य गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको छ । उनीहरुले यस्तो असहज वातावरणमा व्यवसाय सञ्चालन गर्न कठिन हुने तर्फ मुख्यमन्त्रीलाई गम्भीर भएर समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । यस्तै उनीहरुले स्थानीय निकायहरूले कवाडी करको नाममा एक उद्योगबाट अर्को उद्योगमा कच्चा पदार्थ ढुवानी गर्दा समेत कर असुली गरिरहेको भन्दै यस्तो नाजायज कर असुलीमा रोक लगाउन माग गरेका थिए ।
छलफलमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान प्रदेश सरकारले औद्योगिक वातावरण खलबल्याउने कुनै काम नगर्ने प्रतिबद्धता जनाए । दोहोरो कर असुली र नाजायज अतिरिक्त रकम असुलीको विषयमा स्थानीय निकाय लगायत सरोकारवालाहरूसँग छिट्टै छलफल गरेर समाधान गर्न पहल गर्ने आश्वासन उनले दिए । साथै, संघीय भावना अनुरूप एक ठाउँमा कर बुझाइसकेपछि त्यसको बाँडफाँडबाटै तीनै तहले व्यवस्थापन गर्नुपर्ने भएकाले सोही अनुरूप कार्य गराउन संघका निकायहरूसँग समन्वय गर्ने उनले बताएको छलफलमा सहभागी उद्योगीहरुले जानकारी दिए ।
मुख्यमन्त्रीले कोशी प्रदेशमा उद्योग व्यवसाय सञ्चालनका लागि कुनै बाधा नहुने र उद्योगमैत्री वातावरण तयार गर्न सरकार प्रयत्नशील रहेको पनि बताएका थिए । उनले उद्योगीहरूलाई हतास नहुनसमेत आग्रह गरेका थिए ।
प्रतिनिधिमण्डलमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानालगायत तीनै संस्थाका पदाधिकारीहरू सहभागी थिए । यो भेटवार्ताले प्रदेश सरकार र उद्योगी व्यवसायीबीच सकारात्मक संवादको वातावरण सिर्जना गरेको भन्दै उनीहरुले आगामी दिनमा उद्योग क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।