पटके अपराधीबाट युवकको हत्या

विराटनगर । मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । मंगलबार राति उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो । उर्लाबारी– ५ का सुवास तामाङसहितको समूहले उनको हत्या गरेको प्रहरीले जनाएको छ । मंगलवार साँझ साढे ६ बजेतिर तामाङले आफ्नै घरमा बोलाएर उक्त समूहले दाहालको हत्या गरेको मोरङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

मोबाइल चोरी गरेको आरोप लगाएर उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘मंगलबार साँझ साढे ६ बजेतिर आफ्नै घरमा आरोपी तामाङले बोलाएका रहेछन्,’ उनले भने ‘दुई वटा स्कुटरमा कुशलसहित उनका साथी गएका रहेछन् । जाने बित्तिकै तैँले किन मेरो मोबाइल चोरिस् भनेर कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा देखिन्छ ।’

तामाङ र दाहाल चिनजानकै भएको प्रहरीले जनाएको छ । उनीहरु बिचमा आउजाउ भइरहने गरेको खुलेको छ । मोबाइल कुशलले चोरे नचोरेको भन्ने पुष्टि भइनसकेको एसपी कार्कीले बताए । एसपी कार्कीले थपे ‘प्रत्यक्षदर्शीका अनुसार कुशलले पनि सरी दाइ म दिन्छु । गल्ती भयो भनेर भनेका रहेछन् ।’ उनीहरू लागुऔषध प्रयोगकर्तासमेत भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

घरमा गएपछि पहिला घुँडा टेक्न लगाएको र यातना दिएको खुलेको मोरङ प्रहरीले जनाएको छ । ‘मेरो मोबाइल किन चोरिस् भनेर पहिला सुवासले घुँडा टेकाएर लाठीले कुटेछन् । टाउको जीउलगायत शरीरका विभिन्न भागमा हिर्काएका रहेछन् । टाउकोबाट रगत बगेपछि कुशल भाग्न खोजेछन् । सुवास पनि मादक पदार्थ सेवन गरेर मातेका रहेछन् । त्यसपछि किचनबाट छुरा ल्याएर हानेछन्’ प्रारम्भिक अनुसन्धानबाट प्राप्त जानकारी दिँदै उनले भने ।

मृतक कुशलको शरीरको विभिन्न भागमा छुराले हानेको चोटपटक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिट र छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि केही युवाले गोदावरी अस्पताल उर्लाबारीमा लगेका थिए । सामान्य उपचार पश्चात उनलाई थप उपचार गर्न भनी झापाको बी एन्ड सी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा अस्पतालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हत्याका मुख्य आरोपी तामाङलाई भने प्रहरीले बुधवार पक्राउ गरेको छ । धरानतिर गइरहेका बेला उनलाई मोरङको बलियाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।आपराधिक पृष्ठभूमिका तामाङ घरमा एक्लै बस्दै आएको प्रहरीले जनाएको छ । तामाङ यसअघि पनि कर्तव्य ज्यान मुद्दामा तथा अन्य आपराधिक क्रियाकलापमा संलग्न भएपछि कारागारमा परेका थिए ।

उनलाई २०७१ असोज ९ गते कर्तव्य ज्यान मुद्दामा १० वर्षको कैद ठहर भएको थियो । २०७६ सालको प्रजातन्त्र दिवसका दिन उनी छुटेका थिए । लगतै ज्यान मार्ने उद्योगमा उनी पक्राउ परेका थिए । २०७७ भदौ ८ गते कैद भुक्तान गरी उनी छुटेका थिए । त्यसपछि तामाङ लागुऔषध प्रकरणमा पक्राउ परेका थिए । ब्राउन सुगरसहित पक्राउ परेका तामाङ २०७७ कार्तिक ७ गते १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

यस्तै प्रहरीले उनीमाथि अभद्र व्यवहार सम्बन्धी अर्को मुद्दा पनि चलाएको पाइएको छ । २०८० असोज २४ गते उनलाई एक लाख धरौटी माग गरिएको थियो । धरौटी तिर्न नसकेपछि उनी कारागार चलान भएका थिए । भोलिपल्ट नै धरौटी तिरेर कारागारबाट छुटेका उनी फेरी हत्यामा संलग्न भएका हुन् । पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको छ । उर्लाबारी हत्या घटनामा संलग्न अरु व्यक्तिको प्रहरीले खोजी गरिरहेको जनाएको छ । अन्य अभियुक्तहरु घटनापछि फरार भएका छन् ।

बिहिबार, १७ साउन, २०८१, बिहानको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर