भोजपुरमा बाढीको वितण्डाः दुई मजदुर बेपत्ता, आठ पुलमा क्षति

भोजपुर । अविरल वर्षापछि आएको बाढीले बगाएर भोजपुरमा दुई जना मजदुर बेपत्ता भएका छन् ।

भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार मंगलबार रातिको बाढीले जलविद्युत् आयोजनाका दुई कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् ।

बाढीमा फसेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ र बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमान्डमा चार जनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमान्डमा ७ जनाको टोली खोजीको लागि खटिएको छ ।

यसैबीच भोजपुरको थुम्लुङ खोलाबाट सुरु भएको इर्खुवा खोला बाढीले ठूलो क्षति पुर्‍याएको छ । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाको अध्यक्ष दौलथ राईका अनुसार बाढीले ८ वटा पुल र एउटा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ ।

बाढीले स्थानीय बागवालुङ झोलुंगे पुल, दोभाने झोलुंगे पुल, नागदह झोलुंगे पुल, गोथेबजार झोलुंगे पुल, टावुटार झोलुंगे पुल, निर्माणाधीन नागदह पक्की पुल, निर्माणकार्य सम्पन्न हुन लागेको तावुटार पक्की पुल र गौडेनी पक्की पुलमा क्षति पुर्‍याएको छ । त्यस्तै इर्खुवा खोलाको बाढीले त्यहाँ बनिरहेको इर्खुवा हाइड्रोपावर पूर्ण रुपमा क्षति पुर्‍याएको अध्यक्ष राईले जानकारी दिएका छन् ।

बुधबार, १६ साउन, २०८१, बिहानको ११:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर