घर उचाल्ने प्रविधि प्रयोग गर्नेहरु बढे

विराटनगरका डुबान क्षेत्रका घरहरू उचाल्न र सार्नेक्रम सुरु

विराटनगर । विराटनगरको डुबान क्षेत्रका स्थानीय लामो समयदेखि पीडित छन् । पछिल्लो समय निर्माण गरिएका सडकहरु पुराना घरको सतहभन्दा अग्लो बनाएर कालोपत्रे गरिएका छन् । सडक नै अग्लो बनाएपछि त्यस आसपासका घरहरु सानोतिनो वर्षा हुँदा पनि पानीमा डुब्नु स्वभाविक हो । कतिपय डुबेका घरहरु केही घण्टामै पानीबाट मुक्त गर्न सकेपनि कतिपय घरहरु भने महिना दिनसम्म डुबिरहने समस्यामा छ । जसका कारण लाखौं करोडौं खर्च गरेर बनाएको घर भत्काएर अर्को बनाउनु कि त्यस्तै समस्यामा बसिरहनु भन्ने मझधारमा घर धनीहरु पर्ने गरेका छन् ।
तर, पछिल्लो समय विराटनगरमा त्यसखालका घरहरु जमिनको सतहभन्दा माथि उचाल्ने वा केही वरपर सार्ने क्रम सुरु भएको छ । घर भत्काएर अर्को बनाउनु भन्दा कम सस्तो र जग पनि पहिलेकै जस्तो दह्रो हुने भएकोले केही लाख लगानी गरेर मानिसहरु घर उचाल्ने वा केही यताउता सार्ने गरिरहेका छन् । विराटनगरमा यस्तो प्रविधि भित्रिएको केही महिना अगाडि मात्रै हो ।

गत पुस महिनामा विराटनगरका औद्योगिक घराना राजेन्द्र राउतले दुई अर्ब ५० करोड लगानी गर्दै बुढीगंगा–१ टंकिसिनुवारीमा हस्पिटल निर्माणको शिलान्याश गरे । अस्पताल भवन निर्माण गर्ने स्थानमै तीनतले बिल्डिङ थियो । करोडौं रुपैयाँ लगानी गरेर केही वर्ष अगाडि मात्रै बनाइएको उक्त बिल्डिङ भत्काउनु पर्ने अवस्था आयो । तर, राउतले अहिलेको नयाँ प्रविधिलाई प्रयोग गर्दै क्रेनको मद्दतले सिङ्गो घरलाई जुरुक्कै बोकेर स्थानान्तरण गरे । त्यसरी घर सार्दा आफूलाई घर भत्काएर नयाँ बनाउनु भन्दा ८० प्रतिशत सस्तो भएको उनले सुनाए । ‘फाउण्डेसन र नयाँ जग बनाउनु प¥यो । त्यसबाहेक सार्न मात्रै १५ देखि २० लाख भारु खर्च लाग्यो । तर, पहिले जस्तो थियो अहिले पनि सारेको घर त्यस्तै छ । पुरानो र नयाँमा केही फरक पाइएन,’ राउतले भने, ‘डुबान प्रभावित क्षेत्रका घरहरु उचालेर बनाउँदा केही फरक नपर्ने अवस्था छ ।’
राउतले घर सारेजस्तै विराटनगर विराटनगर–११ मा ३ तले घर अहिले धमाधम उचालिँदैछ । १ हजार ७५० वर्गफुटको घर डेढ महिना लगाएर उचालेरभित्र जग बसाउने काम चलिरहेको छ । कोशी राजमार्ग निर्माणपछि घरको बेस सडक भन्दा तल परेपछि चारफुट उचालेर समानान्तर बनाउन लागिएको हो ।

घरै उचालेर वा घरै सार्ने काम भने अहिले भारत बिहार, सहरसा जिल्लास्थित एल.बी.एल हाउस लेफ्टिङ कन्ट्रक्सनले गरिरहेको छ । फ्रेम स्टक्चर भएको घरको बेसबीमबाट उचालेर नयाँ जग बसाउने काम भइरहेको छ । उचालिएको घर फलामको जगमा राखिएको छ ।

कन्ट्रक्सनका प्रोपाइटर तथा इन्जिनियर लालचनकुमार गुप्ताका अनुसार उक्त घर उचालेको प्रतिवर्गफुट ६ सय रुपैयाँ खर्च लाग्छ । घरको क्षेत्रफल तथा तलाको आधारमा दररेट कायम हुन्छ । फ्रेम स्टक्चर (पिलर) घरको एकतला भए ४ सय, दुई तला भए ६ सय, तेस्रो तला भए ८ सय र चौंथो तला एक हजार २ सय प्रतिवर्गफुट पैसा लाग्ने गुप्ता बताउँछन् । आवश्यक पर्ने निर्माण सामग्री भने घरधनीले नै उपलब्ध गराउनु पर्छ ।
घरको जगदेखि बेसबीम बीचमा नयाँ संरचना निर्माण गरेर पीलरमा जडान गरिन्छ । त्यसका लागि सबै संरचना बेसबीमभन्दा तल निर्माण गर्नुपर्ने इन्जिनियर गुप्ताले बताए । उनका अनुसार एक हजार ७५० स्क्वायर फिटको दुईतले घर उठाउनका लागि दुई महिना लाग्छ । विराटनगरमा ढेड महिनादेखि यो घरमा काम भइरहेको छ । अब पन्ध्र दिनमा घरको संरचना पूर्ण रुपमा बस्न योग्य हुन्छ ।

फ्रेम स्टक्चर मात्रै नभई लोड बेरिङ (पर्खाल) घरसमेत उचाल्न मिल्ने उनले दाबी गरे । एक तला मात्रैको घर प्रतिवर्गफुट ३ सय रुपैयाँ लाग्ने इन्जिनियर गुप्ता बताउँछन् । उनका अनुसार नेपालमा यसरी घर उचाल्ने काम सुरु भएको चार वर्ष भइसकेको छ । विराटनगर महानगरपालिकाका भित्र यो छैटौं घर लिफ्टिङ भएको हो । विराटनगरमा अहिले पनि १० वटा घर उठाउने माग आएको गुप्ता बताउँछन् । नेपालमा आफ्नो कम्पनीमार्फत मात्रै १५० भन्दा बढी घर उचालिएको उनले जानकारी दिए । अहिले देशभरमा डेढसय भन्दा बढी कर्मचारीले काम गरिरहेको उनले बताए । ‘काठमाडौं, जनकपुर, लाहान, धरानमा पनि काम भइरहेको छ । एउटा घरको लागि २ महिना लाग्छ,’ गुप्ताले भने । उनले मजदुरहरू भने सबै भारतीय लगाएका छन् । आठतला अग्ला घरहरू पनि ४–५ फिटसम्म उचालिएको उनले बताए । त्यस्तै घरहरुलाई उचालेर बिचमा रेल बनाएर सय, दुई फिटसम्म सार्न सकिने उनले बताए ।

विराटनगर ३ को औषधि व्यवस्था विभाग र आयल निगम पूर्व अहिले पनि डुबिरहेको छ । विराटनगर–५ का गोपाल आचार्यले पनि डुबेका घरहरु सार्न यो उपयोगी रहेकोजस्तो देखिएको बताए । विराटनगर–३ का भरत पौडेलले पनि डुबेका घरहरु सार्ने र उचाल्ने यो प्रविधि उपयोगी देखिएको बताए ।

बुधबार, १६ साउन, २०८१, बिहानको ०७:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर