इटहरी । क्यानभास साहित्य समाज तरहराको आयोजनामा ‘क्यानभासमा गगन’ कार्यक्रमको आयोजना गरिएको छ । कवि गगन योक्पाङ्देनद्धारा लिखित ‘केवाफुङ्को गीत’ कविता सङ्ग्रहमाथि विमर्श कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा कवि योक्पाङ्देनले सङ्ग्रहभित्रबाट एक दर्जन कविता वाचन गरे । उनले ‘आमाप्रति’, ‘उपहार’, ‘साइँली सोल्टीनीको बैँस’, ‘छोरीको चकचक’, ‘भरियाको कथा’, ‘छिमेकीलाई’, ‘बाटोको आयु’, ‘एउटा घरको दिनचर्या’लगायतका कविता वाचन गरे ।
कविता वाचन गर्नुअघि उनले आफू गाउँमा बसेर साहित्य साधना गर्दै आएको र यस कविता सङ्ग्रहमा पनि गाउँका थुप्रै बिम्बको प्रयोग गरिएको बताए । उनले गाउँले जीवन र आफूले भोगिरहेको जीवनबारे पनि केही चर्चा गरे ।
कार्यक्रम सुरु हुनुपूर्व कार्यक्रमका प्रमुख अतिथि, नेपाली वाङ्मय क्षेत्रका सुप्रसिद्ध कवि जसराज किरातीले ‘केवाफुङ्को गीत’बाट ‘छोरीको चकचक’ कविता वाचन गर्दै उद्घाटन गरे । उक्त कविताले पहिचानको आवाज बोलेको किरातीको तर्क थियो । ‘कविता लेख्नु सजिलो पनि होइन, गीत लेख्नुभन्दा गाह्रो कुरा हो,’ उनले भने, ‘हामीले हेर्दा सामान्य लाग्ने कविताभित्र पनि गह्रुंगो कुरा हुन्छ ।’
आजकाल लेखिने कविताको विषय बरालिएको उनको भनाइ छ । ‘पहिला कविता नै लेखेर कवि हुने सोच पनि राख्दथ्यौँ,’ उनले थपे, ‘हामी कवितामा कसलाई के भन्नुपर्ने हो, के भन्न खोजिएको हो त्यो स्पष्ट नै पार्दैनौँ ।’ उनले पछिल्लो समय आम मानिस राजनीतिको मात्रै कुरा गर्ने तर त्यहाँबाट केही प्राप्ति गर्न नसकिरहेकोसमेत बताए ।
पछिल्लो समय लेखिने कवितामा प्रेमको विषय मात्रै समेटिएपनि त्यसले भन्न खोजेको कुरासमेत नबुझिने उनले सुनाए । ‘हामीले एउटा केटीको बारेमात्रै, केटाको बारेमात्रै, प्रेमको बारेमात्रै लेखिरहेका छौँ कि !,’ किरातीले भने, ‘कविता लेखेर हामीले के पायौँ होइन, कविताले के समाजलाई दियो भन्ने चेत कविहरूमा हुनुपर्छ ।’ कविता सङ्ग्रहमाथि लेखक तथा उपप्राध्यापक राजेश विद्रोहीले टिप्पणी राखेका थिए ।
‘यो सङ्ग्रहभित्र राजनीतिक विडम्बना, आधुनिकता, गाउँको चिन्तनलगायत विषयगत विविधता समेछिएको छ,’ विद्रोहीले भने, ‘मिथक भनेको कथा मात्रै होइन । सङ्ग्रहका कविताहरूमा मातृभाषाको प्रयोगले नेपाली भाषालाई पनि समृद्व बनाउदै लगेको छ ।’
गगनका कविताले समकालीन जीवनको समयलाई व्यक्त गरिएको उनले सुनाए । ‘अहिलेका कविहरूमा समय चेत हुन आवश्यक छ । जुन चेत गगनका कवितामा पाइन्छ,’ उनले भने । कार्यक्रमका सभाध्यक्ष प्रसिद्ध कवि मनु मञ्जिलले कविले प्रत्येक वाक्यमा नवीन कुरा दिनुपर्ने बताए । ‘सुन्दर कुरो सुन्दर होइन, नवीन कुरा सुन्दर हो,’ मञ्जिलले थपे, ‘कविले प्रत्येक वाक्य सिर्जना गर्ने भएकाले कविहरूलाई सिर्जनात्मक भनिएको हो । कविले प्रत्येक वाक्यमा नवीन कुरा दिन आवश्यक छ ।’
क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहालले आफूहरूले इटहरी क्षेत्रमा रहेर विभिन्न समयमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको र आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।