विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजमा सुशासन कायम गर्दै लोकतन्त्रको रक्षा गर्न पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो अधिवेशनको बुधवार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सञ्चारकर्मीहरूले अझ भूमिका खेल्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए । ‘पत्रकार र सञ्चारमाध्यम नै राष्ट्रका सच्चा पहरेदार हुन् ,’ मुख्यमन्त्री कार्कीले भने । नीति, नेतृत्व र समग्र राज्यव्यवस्थालाई सही मार्गमा डोर्याउने, समाजमा भएका सकारात्मक विषय उठान गरी आफ्नो जिम्मेवारी निर्वाह गर्न पत्रकारलाई मुख्यमन्त्री कार्कीले अनुरोध गरे ।
उनले लोकतन्त्र र सङ्घीयतामाथि भइरहेका टिप्पणीको विश्लेषण गर्दै कलमका माध्यमबाट यसको रक्षा एवम् प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्ने उनले बताए ।कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पत्रकारिता क्षेत्रले खेलेको सकारात्मक भूमिकाले नै मुलुकको समृद्धि र विकासमा सहयोग पुगेको बताए । यसैगरी केन्द्रीय सदस्य अमर काफ्लेले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जाल ठुलो चुनौती बन्दै गएको बताउँदै यसलाई आकर्षण थलो बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष तथा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेलले श्रम ऐन कार्यान्वयन गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रेस सङ्गठन कोशी प्रदेशका अध्यक्ष विनोद घिमिरे, प्रेस चौतारी कोशी प्रदेशका उपाध्यक्ष सुमन पुरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोरिजका प्रदेश अध्यक्ष सन्तवीर लामालगायतले साधारण सभाको शुभकामना दिएका छन् । कार्यक्रममा १४ जिल्लाका अध्यक्ष तथा प्रदेशका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।