आगलागीमा ७९ वटा घर जलेर नष्ट

खोटाङ । खोटाङ जिल्लामा गत साउनदेखि वैशाख १२ गते सम्म विभिन्न ठाउँमा भएको आगलागीमा ७९ वटा घर जलेर नष्ट भएका छन् । एकजनाले ज्यान गुमाएका छन् भने छ जना घाइते भएका छन् जिल्ला प्रहरी कार्यालयले जनाएको छ। एक सय १० वटा स्थानमा भएको आगलागीबाट पाँच करोड बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सामुदायिक वनमा लागेको डढेलोबाट रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित हरमटारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो ।

आगलागीबाट एक सय ७५ वटा चौपाया र एक सय ९५ पक्षी जलेर मरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा बुधबारमात्रै बराहापोखरी गाउँपालिका–१ बराहापोखरीमा १३ वटा घर जलेर नष्ट भएका छन् । । विभिन्न चारवटा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ, एउटा बाख्राखोर र एउटा भान्छाघर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस वर्ष तीन दर्जन बढी सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ ।

बिहिबार, १३ बैशाख, २०८१, साँझको ०५:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर