सँधै समीकरण र सँधै गठबन्धनले देश चल्दैन : ओली

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई जातका पछि नलाग्न आग्रह गरेका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको प्रचारप्रसारको अन्तिम दिन आज चुलाचुली २ स्थित स्वामीचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले आफ्नो दलको तर्फबाट उम्मेद्वार बनेका सुहाङ नेम्वाङलाई मत माग्दै जातीय कुरा नगर्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

‘पहिचान विरोधी कोही होइन । एमालेले जति दलित, मुस्लिम, जनजाति कसैले उठाएको छैन । तर, जातीय आधारमा होइन । बिना भेदभाव, योग्यता, क्षमताको आधारमा मूल्यांकन गरेर साथीहरू माथि पुगेका छन् । त्यसकारण सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा जुटौं,’ ओलीले थप भने, ‘जातका कुरा मनमा नराख्नुहोस् । कसैले जातका कुरा गर्यो भने त्यो जातीय कुराले हार्ने मात्रै हो । यो देशमा कुनै पनि जातको काँही पनि बहुमत छैन । कोही पनि मानवजातको विरुद्ध जातीय संकीर्णताको कुरा गर्नु राम्रो हुँदैन ।’

जनतालाई दिने सेवा सुविधा र जिम्मेवारी बोक्ने उम्मेद्वार सुहाङ बाहेक कोही नभएको भन्दै उनले यस निर्वाचनमा कसैले पनि गल्ती गर्नु नहुने बताए । पहिचान भनेको राष्ट्रिय पहिचान रहेको बताए । ‘पहिचानका लागि पहिलो कुरा राष्ट्रिय पहिचान हो । त्यसपछि आफ्ना आफ्ना पहिचान छन् । त्यसलाई संरक्षण गर्छौं । पहिचान र हाम्रो विविधतालाई भिन्नतालाई दुरुपयोग गरेर, विद्वेशमा बदलेर घृणा फैलाएर हामी कुनै राम्रो ठाउँमा पुग्न सकिँदैन । राम्रो ठाउँमा पुग्न एकताबद्ध हुनुपर्छ,’ ओलीले भने, ‘विविधतालाई एकतामा पुर्याउनु पर्छ । हाम्रा सामथ्र्यहरु देशको विकासको पक्षमा, उन्नतिको पक्षमा डोहोर्याउनु पर्छ । पहिचान विरोधी कोही होइन ।’

उनले सुवास नेम्वाङले दिएको योगदान नबिर्सन आग्रह गर्दै रिस उठ्यो भन्दै जेपनि भन्नु नहुने बताए । राजनीतिमा सही भन्न सक्नुपर्ने भन्दै त्यसमा सुवास नेम्वाङ सँधै अगाडि रहेको उनले दाबी गरे । ‘ज्ञान, क्षमताको हिसावले सुवास नेम्वाङ गुरु पनि हुन् । उहाँको असमायिक निधन भएपछि उहाँको क्षेत्रमा उहाँकै सुयोग्य छोरालाई उम्मेद्वार बनाएको मर्मलाई बुझेर अलमलमा नपरी, भ्रममा नपरी मतदान गर्न आग्रह गर्दछु,’ ओलीले भने । ओलीले एमालेका उम्मेद्वारलाई सघाउने निर्णय गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेकपा विप्लवका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवलाई धन्यवाद दिए ।

ओलीले अर्को प्रसंगमा गठबन्धन र समीकरणले देश सँधै चल्न नसक्ने बताए । ‘सँधै समीकरण र सँधै गठबन्धनले देश चल्दैन,’ उनले भने, ‘मिसन ८४ भनेको निर्णायक राजनीतिक राष्ट्रिय शक्तिको रुपमा हामी बन्नुपर्छ । अनेक प्रकारको जोड घटाउ गरेर, मिलजुल गरेर, बहुमत पुर्याएर देश चल्दैन ।’ अहिले समीकरण बनाउनु परेको कुराको अर्थ दिँदै ओलीले भने, ‘अहिले देश ओरोलो लागेको लाग्यै भयो । गत वर्ष रोक्न खोज्यौं । फेरि भत्कीयो । अहिले फेरि रोक्न खोजेका छौं । देशलाई बचाउन खोजेका हौं ।’ उनले आफ्नो नेतृत्वको सरकार हुँदा ३ प्रतिशत मानिस गरिबीबाट मुक्त भएको दाबी गर्दै आफूले सत्ता छोड्ने वित्तिकै ३ प्रतिशत गरिवी पुनः बढेको बताए । इलाम–२ उपनिर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो ।

बुधबार, १२ बैशाख, २०८१, साँझको ०६:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर