अनि पक्राउ परे २४ सहकारी चोरी गर्ने समूह

विराटनगर । ६ महिनाको अवधिमा ६ जना गिरोहको समूहले झापा र मोरङमा सृङ्खलाबद्ध २४ वटा सहकारी संस्थामा लुटपाट गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसनधानबाट खुलेको छ ।

ती २४ सहकारीबाट उक्त समूहले झण्डै आधा करोड (५० लाख) रुपैयाँ लुटपाट गरेको प्रहरीको अनुमान छ । झापामा मात्रै १३ वटा सहकारीबाट ३० लाख १६ हजार रुपैयाँ लुटेको झापा प्रहरीले जनाएको छ ।

मोरङमा पनि तेही समूहले करिब १२ वटा सहकारी लुटेको प्रहरीको अनुमान रहेको छ । उक्त सहकारीबाट करिब २० लाखको लुटेको प्रहरीको प्रराम्भिक अनुमान छ । झापा प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दर्ता गरेपछि मोरङमा ल्याएर प्रहरीले अनुसन्धान गर्ने तयारी गरेको छ । त्यसपछि लुटपाट गरेको रकम थाहा हुने मोरङ प्रहरीले बताएको छ ।

प्रहरीको अनुसन्धानबाट झापा र मोरङको दुई दर्जन सहकारी लुटपाट गर्ने समूह एउटै रहेको खुलेको हो । ६ महिनाको प्रयासपछि चोरीमा संलग्न ६ जनालाई प्रहरीले गत शुक्रबार सुनसरीको इटहरीबाट लुटेरा पक्राउ गर्यो ।

पक्राउ पर्नेमा ‘फाखेल समूह’ का ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्त बहादुर स्याङतान उर्फ सुनिल, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङतान, २८ वर्षका अजय राना मगर र २६ वर्षीय सुजन स्याङ्तान छन् । फाखेल मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा पर्ने बस्ती हो । उनीहरूलाई वैशाख ७ मा पक्राउ गरेर झापा प्रहरीले चोरी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सहयोगमा ६ जना आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए । पक्राउ गरेपछि थाहा भयो उनीहरू मकवानपुरको फाखेलबाट झापा आएर पूर्वमा चोरी आतंक मच्चाएका रहेछन् ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ फाखेल घर भएका आरोपीहरूले सहकारीलाई मात्रै टार्गेट गरेर चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘गुगल म्याप सेट गरेर सहकारी पत्ता लगाउने र सर्भिलेन्स (निगरानी) गरेर चोर्ने सो समूहको अपराध प्रकृति देखिन्छ ,’ उनले भने ।

चोर्नका लागि प्रयोग गरिएको प्रमाण(दशी)का सामान प्रहरीले बरामद गरेको छ । आरोपीहरूले राति १२ बजेदेखि २ बजेको बिचमा सहकारी फुटाउने गरेको पाइएको डीएसपी चन्दले बताए । उनले भने, ‘धेरैजसो मंगलबार, बिहीबार र शुक्रवार उनीहरू सहकारीमा चोर्न जाने गरेको देखिन्छ । चोर्न जाँदा मास्क र टोपी लगाएर छिर्ने गरेको सिसिटभी फुटेजमा देखिएको छ ।

यसरी पक्राउ परे

प्रहरीले चोरी भएको सहकारी संस्थालाई निगरानीमा राखेर अनुसन्धानको सुरुवात गरेको थियो । सुरुमा वरिपरिको सिसिटिभी फुटेज संकलनदेखि घटनास्थलमा पुगेर त्यहाँका व्यक्तिहरूसँग सोधपुछ गर्ने कार्य ग¥यो । तर, चोर पत्ता लागेन । हप्तैपिच्छे सहकारीहरूमा चोरी हुनथाल्यो । त्यसपछि प्रहरीले सूक्ष्म ढङ्गबाट अनुसन्धान सुरु गर्यो । सहकारीमा चोरी हुँदाका बखत त्यो लोकेसनमा सक्रिय भएका मोबाइल नम्बरहरू ट्रेससँगै संकलन गर्न थाले ।

सहकारीहरूमा चोरी भएका बेला आसपास देखिएका केही मोबाइल नम्बरहरू एउटै भएको पत्ता लगाए । त्यो पत्ता लगाउन प्रहरीलाई झन्डै महिना दिन लाग्यो । त्यसपछि प्रहरी मोबाइल नम्बर बोकेका व्यक्तिहरूको लोकेसन ट्रेस गर्न थाले । उनीहरूको लोकेसन हेटौँडासहित पूर्वका विभिन्न स्थान देखाउँथ्यो । उनीहरू एक ठाउँमा नबस्दा प्रहरीलाई समस्या भयो । एक जना प्रहरी उनीहरूको लोकेसन ट्रेस गरेर बस्थ्यो । झापा छिर्ने बित्तिकै उनीहरूलाई पक्राउ गर्ने योजना प्रहरीले बनायो । तर, त्यस अवधिभित्र उनीहरू झापा छिरेनन् । वैशाख ६ गते साँझ उनीहरूको लोकेसन इटहरीमा देखियो ।

इटहरी लोकेसन देखाएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसँग समन्वय गरी झापा प्रहरी बिहान ६ बजे त्यसतर्फ लागे । उनीहरू बसेको होटेल पनि पत्ता लगाए । इटहरी उप–महानगरपालिका–६ स्थित न्यु विशाल होटेल एन्ड गेस्ट हाउसको कोठा नम्बर ६ मा उनीहरू बसेको पत्ता लगाए । त्यसपछि प्रहरी टोलीले होटेल सञ्चालकसँग सहकार्य गरी कोठा फोडेर उनीहरूलाई पक्राउ ग¥यो । कोठाभित्र तीन वटा खाटमा दुई÷दुई जना सुतिरहेका बेला उनीहरु पक्राउ परे । पक्राउ परेका उनीहरूलाई त्यसै दिन दिउँसो झापा लगिएको थियो ।
झापा र मोरङमा दुई दर्जन सहकारीमा चोरी

पक्राउ परेका समूहले झापा र मोरङका दुई दर्जन सहकारीमा चोरी गरेको प्रहरीले बताएको छ । गत मंसिर २६ गते दमकस्थित काबेली साना किसान सहकारी संस्थामा उनीहरुले चोरीको पहिलो प्रयास गरेका थिए । त्यहाँ केही फेला नपरेपछि गत पुस २६ गते मध्यरातमा झापाको हल्दिबारी गाउँपालिका–२ स्थित एकता बहुउद्देश्यीय सहकारी संस्था फोडेर साढे ३ लाख रुपैयाँ चोरी गरेका थिए । दमक, हल्दिबारी हुँदै त्यसपछि जिल्लाका विभिन्न पालिकामा रहेका सहकारी संस्थाहरूमा सृङ्खलाबद्ध चोरीमा उनीहरू संलग्न भए ।

उनीहरूले झापा मात्र नभई मोरङमासमेत सहकारी संस्थाहरू फोडेर चोरी गरे । माघ १७ गते हल्दिबारी–४ स्थित जलथल साना किसान सहकारी संस्था र दुग्ध संकलन केन्द्र एकै पटक चोरी गरे । सहकारीको कार्यालयभित्र रहेको भल्ट फुटाएर नगद एक लाख २५ हजार चोरी गरेका थिए, भने दूध संकलन केन्द्रबाट नगद २६ हजार चोरी गरे ।

चैत २१ गते झापाको गौरादह ५ मा एकै रातमा तीन वटा सहकारीबाट ६ लाख ३६ हजार ५०० रुपैयाँ चोरी गरे । उनीहरूले जनहित साकोसबाट ५ लाख, महारानी साकोसबाट ८५ हजार ५०० र साना किसान सहकारीबाट ५४ हजार चोरी गरेका थिए ।

चैत ५ गते राति गौरादह–९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेका थिए । चैत २० गते कचनकवल गाउँपालिका–२ स्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था र साना किसान सहकारी संस्थामा चोरी गरेका थिए ।

मोरङको बेलबारी–१० नारायण चोकस्थित झलझली बचत तथा ऋण सहकारी संस्थाको गेट र भित्रको झ्याल फुटाएर ३५ हजार पाँच सय रुपैयाँ चोरी भएको थियो । बेलबारी ३ सहकारी मार्गमा रहेका जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड र लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी प्रयास भएको थियो । त्यस्तै पुस १२ गते कानेपोखरी ७ स्थित जनमुखी बचत तथा ऋण सहकारीबाट ४ लाख १४ हजार ८०१ रुपैयाँ, माघ २९ गते राति कानेपोखरी–६ स्थित आदर्श बचत तथा ऋण सहकारीबाट ९३ हजार ९६० रुपैयाँ, फागुन २ गते पथरीशनिश्चरे ८ स्थित सिद्धेश्वर बचत तथा ऋण सहकारीबाट चार लाख ७६ हजार १६६ रुपैयाँ चोरी भएको थियो ।

त्यसैगरी फागुन १५ गते राति लेटाङ–२ फडानी स्थित एकीकृत जनभावना बचत तथा ऋण सहकारीबाट १२ लाख ८१ हजार ३० रुपैयाँ, खैरेनी सेवा केन्द्रबाट ३ लाख ९० हजार ५८५ रुपैयाँ र गोदावरी सेवा केन्द्रबाट ८ लाख ९० हजार ४४५ रुपैयाँ चोरी भएको थियो । बेलबारी ८ राधानगरस्थित जनप्रेमी बचत तथा ऋण सहकारीमा चोरीको प्रयास भएको थियो । झापा प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दर्ता गरेपछि मोरङमा ल्याएर पुनः अनुसन्धान गर्ने मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । ‘यही समूहले मोरङका सहकारी पनि विभिन्न मितिमा लुटपाट गरेको पहिचान भएको छ,’ उनले भने, ‘झापामा अभियोग दर्ता गरेपछि यता ल्याएर हामी अनुसन्धान सुरु गर्नेछौ,’ उनले भने ।

बुधबार, १२ बैशाख, २०८१, बिहानको ०७:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर