लोड हुँदैछ...

मेनु

राज्यकोषमाथि लुटको नमुना

राज्यकोषमाथि लुटको नमुना

पहुँचवालाले राज्यकोषमाथि कसरी दोहन गरिरहेका छन् भन्ने नमुना धनकुटाको पाख्रिबास नगरपालिकामा केयर वुमन नामक संस्थाको नाममा सरकारी बजेट प्रयोगले फेरि बाहिर ल्याएको छ । हाल कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना राज्यमन्त्री रहेकी ईन्दिरा थापाले आफ्नो आमाको नाममा रहेको जग्गामा सरकारी बजेटबाट घर बनाएकी छन् । एउटै पालिकाका छुट्टाछुट्टै वडामा सोही संस्थाको नाममा अहिलेसम्म थापाले ४ करोड रुपैयाँभन्दा धेरै बजेट लगेको देखिएको छ । पाख्रिबास ४ मा अस्पताल बनाउने भन्दै संस्थाकै नाममा जग्गा लिएर भवन बनाइरहेकी थापाले पाख्रिबास ८ मुगामा भने आफ्नो परिवारको निजी जग्गामा घर बनाएकी छन् । उनले गरेको राज्यकोषमाथिको दोहनको श्रृंखला प्रदेश सरकार स्थापना भएयता निरन्तर चलेको देखिएको छ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालासँग निकट रहेकी थापाले उनकै पहुँचको आधारमा यो सबै काम गर्नसकेको देखिन्छ । त्यसबारे हाम्रोमत दैनिकले समाचार प्रकाशन गरेपछि विषयमा प्रदेशसभाको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्ने भएका छन् । छानविनबाट सत्यतथ्य बाहिर आउनुपर्छ र दोषीलाई कार्वाही हुनुपर्छ ।

राज्यमन्त्री थापाको संस्था केयर वुमेन नेपालको नाममा निजी जग्गामा भवन र पर्यटकीय पूर्वाधार बनाउने भन्दै आर्थिक वर्ष २०७६–७७ यता लगातार प्रदेश सरकारले बजेट बिनियोजन गरेको देखिन्छ । सो वर्ष १ करोड १० लाख, आर्थिक वर्ष २०७७–७८ मा ५० लाख, आर्थिक वर्ष २०७८–७९ मा ३० लाख, आर्थिक वर्ष २०७९–८० मा १० लाख र चालु आर्थिक वर्ष २०८०–८१ मा २५ लाख रुपैयाँ सरकारले सो जग्गामा खन्याएको छ । पर्यटन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विकास आयोजनाले बजेट कार्यान्वयन गरिरहेको छ । सोही संस्थाको नाममा पछिल्लो दुई वर्षदेखि सोही संस्थाको नाममा पाख्रिबास ४ मा अर्को भवन पनि निर्माण भइरहेको छ । सो भवनको लागि गत आर्थिक वर्षमा १० लाख र चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ प्रदेश सरकारले छुट्याएर खर्च गर्दैछ । यस्तै सोही स्थानमा अर्को भवन बनाउन संघीय सरकारको सहरी विकास मन्त्रालयले ८० लाख रुपैयाँ छुट्याएर काम गरिरहेको छ । पहुँचको आधारमा आफ्नो संस्थामा करोडौं बजेट लैजानु र त्यो बजेटबाट निजी जग्गामा घर निर्माण गर्नु आर्थिक अपराध हो । सरकारी कोषको दुरुपयोग हो । राज्यको सम्पत्तिको अपचलन हो ।

निजी जग्गामा सरकारी बजेटबाट भवन बनाउन नमिल्ने कानुनी व्यवस्था छ । भवनको सम्झौता गर्दा नै धनीपूर्जा संस्थाको नाममा छ कि छैन भनेर सम्झौता गर्ने निकायले हेर्नुपर्ने हो । संस्थाको सामाजिक गतिबिधि उत्कृष्ट रहेको अवस्थामा लिज सम्झौतासम्मलाई मान्यता दिन सकिने सरकारी अधिकारीहरु बताउँछन् । तर, थापाले आमाको जग्गामा बनाएको भवनको न नक्सापास भएको छ न, स्थानीय सरकारबाट भवन निर्माण र लिजको लागि कुनै सिफारिस भएको छ । सो कुरा वडाका तत्कालिन अध्यक्ष सिताराम राईले बताएका छन् । निजी जग्गामा भवन बनाएको कुरा थापा आफैंले पनि स्वीकार गरेकी छन् । दाजुहरुले पास गरिदिने सहमति भएकोले भवन बनाएको उनको दावी छ । महिलाहरुको सशक्तिकरण र उपचारमा काम गर्ने दावी गरिएको उनको संस्थाले २ करोड बढि खर्च गरेर भवन बनाएपनि उल्लेख्य काम गरेको देखिएको छ । बरु करोडौं खर्चेर बनाएको घर नै भुतबंगलाजस्तो छ ।

यो प्रकरणले डा.शेखर कोइरालामाथि पनि प्रश्न खडा भएको छ । सुशासन, पारदर्शिता, राज्यकोषको सदुपयोग र भ्रष्टाचार विरुद्ध आफू रहने दावी उनले गर्दै आएका छन् । उनका भाषण र भनाइ त्यसै विषयमा केन्द्रित भएका छन् । यस्ता विषयमा उनी पार्टीकै सभापतिदेखि अन्य नेताहरुमाथि पनि बेला–बेला प्रश्न उठाउने गरेका छन् । तर, उनकै निकट रहेकी प्रदेश मन्त्रीले गरेको राज्यकोषको दुरुपयोगबारे उनको धारणा के हो भन्ने प्रश्न उठेको छ । डा.शेखरसँगको निकट सम्बन्धकै कारण कोशी प्रदेशसभा सदस्य र र राज्यमन्त्री भएकी थापाबारेमा डा. शेखरले किन बोलेका छैनन् भनने प्रश्न छ । शेखरले बोले पनि उनलाई संरक्षण गरेपनि नियमाक निकायले यो प्रकरणमा गम्भीर छानविन गर्नुपर्छ । यो प्रकरणमा जोडिएका सबैलाई कार्वाहीको दायरामा ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds