मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको च्याम्पियन

विराटनगर । पहिलो पटक मच्छिन्द्र एफसी काठमाडौंले विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर इतिहास रचेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रिला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले आठौ संस्करणको उपाधि जितेको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको घरेलु टिम सांग्रिलाले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । यो सिजनमा ७ वटा गोल्डकपमा भाग लिएको मध्ये सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले तीन वटा जित्न सफल भएको छ । यसअघि केपी ओली कप र वाग्मती गोल्डकपको उपाधि जितिसकेको छ ।

मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरूङ र युसुफ थपलियाले गोल गरे । उनीहरुले दुवै गोल अतिरिक्त समयमा गरेका हुन् । निर्धारित ९० मिनेटको समयमा गोलरहित खेल बराबारी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

अतिरिक्त समयमा सांग्रिलाका गोलकिपर विशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३ औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गरी टिमलाई अग्रता दिलाए । युसुफ थपलियाले प्रहार गरेको कर्नर सांग्रिलाका गोलकिपर विशाल सुनारले पन्च गरेर बल किलियर गर्न सकेनन् । त्यसपछि रिबाउन्ड भएको बललाई छिरिङले हेडमार्फत शानदार गोल गरी अग्रता दिलाए । मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९ औं मिनेटमा युसुफ थपलियाले लामो दुरीबाट प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो । प्लेयर अफ द म्याच मच्छिन्द्रका लकेन लिम्बू घोषित भए । उनले ११ हजार पाए ।

बेस्ट गोलकिपर मच्छिन्द्रका विशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफन घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी सांग्रिलाका महेन्द्र कार्की घोषित भए । उनले मोटरसाइकल पाए ।
फाइनलमा सांग्रिलाले २५ औं मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाए । ३५ औं मिनेटमा सांग्रिलाका सुशील राईले गोल गर्ने अवसर खेर फाले । ४२ औं मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी स्टेफिनले वान भर्सेस वानको प्रहार गोलन गर्नबाट चुके । उनले गरेको प्रहार पोस्ट माथिबाट बल बाहिरियो । ४३ औ मिनेटमा मच्छिन्द्रका आयुश घलानले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्नबाट चुक्यो । उनले गरेको कडा प्रहार बाहिरिँदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो ।

पहिलो हाफसम्म गोल रहित खेल बराबारीमा सकियो । ५४ औं मिनेटमा सांग्रिलाका विवेक पौडेलले मध्य भागबाट निकालेको पासलाई सुशील राईले डिबक्स भित्रबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो । ८३ औं मिनेटमा स्टिफिन विनिङले डिबक्स भित्रबाट गरेको प्रहार सांग्रिलाका गोलकिपर विशाल सुनारले बिफल पारिदिए ।

विजेता हुने खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

शनिबार, २४ चैत, २०८०, रातीको १०:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर