सिनेमा साक्षरता अभियान चलाउँदै ओस्कार

विराटनगर । काठमाडौंस्थित ओस्कार अन्तराष्ट्रिय कलेजले नेपालभरिका ठूला १० शहरमा सिनेमा साक्षरता अभियान चलाउने भएको छ ।

त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त कलेज विगत दुई दशकदेखि सिनेमा शिक्षा क्षेत्रमा स्नातक तह अध्ययन गराउँदै आएको नेपालकै पहिलो कलेज हो ।

विशेषगरी प्लस टु सकेर ब्याचलर तहमा के विषय पढ्ने भनेर सोचिरहेका विद्यार्थीहरुलाई लक्षित गरि एक दिने कार्यशालामार्फत यो अभियानद्वारा हरेक सहरमा सिनेमा शिक्षाका विविध पक्ष समेटिनेछन् । कार्यशाला सिनेमासम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरू, सिनेमा इतिहास, चरित्रबारे जानकारी दिँदै सुरु हुने बताइएको छ ।

कार्यशालामा वास्तविक जीवनमा देखिएका चरित्रहरूको उदाहरण दिँदै घटना परिघटना जोड्दै सहभागी विद्यार्थीहरूले तत्कालै एउटा कथालाई कसरी पटकथामा रुपान्तरण गर्ने कुरा पनि सिकाइने छ । कागजमा लेखिएका कुरालाई कसरी श्रव्यदृश्यमा परिणत गर्ने भनेर त्यहीँ प्रयोगात्मक अभ्यास पनि गरिने प्राध्यापक राजाराम दाहालले बताए । कार्यक्रममा कलेजबाट दीक्षित र पढिरहेका विद्यार्थी गरी दुई जनाको फिल्मसमेत देखाइने छ ।

नयाँ पुस्ता नै भविष्यका राम्रा फिल्ममेकर, समीक्षक वा प्रशिक्षक हुने भएकोले पनि नयाँ पुस्तालाई लक्षित गरिएको र यो सिनेमा साक्षरता अभियानले सिनेमाप्रति हुटहटी जगाउने आयोजकको दावी छ । कार्यक्रम अभियान अन्तर्गत सिनेमा विज्ञद्वारा विद्यार्थीलाई सिनेमाप्रति जागरुक र जिम्मेवार बनाउने अपेक्षाका साथ नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले यो अभियान गर्न लागिएको हो ।

सिनेमाका धेरै गतिविधि काठमाडौं केन्द्रित भएकोले काठमाडौंबाहिर यस्ता कार्यक्रमको खाँचो महसुस गरेर यो अभियान गरेकोसमेत दाहालले बताए । अभियानअन्तर्गत मेचीदेखि महाकालीसम्म समेट्नेगरी १४ गते बिर्तामोड झापाबाट शुरु भई चैत्र २५ गते पोखरामा समापन हुने ओस्कार इन्टरनेसनल कलेजका प्रशासकीय प्रमुख नविन न्यौपानेले बताए । अभियान बिराटनगर, ईटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल, दाङ, धनगढी र अन्तमा पोखरामा हुनेछ ।

विराटनगरमा चैत्र १५ गते कृषि भवनको पछाडि रहेको एभरेस्ट सेकेण्डरी स्कूलमा ११ बजेदेखि सुरु भई ४ बजेसम्म कार्यशाला चल्ने प्रशासकीय प्रमुख न्यौपानेले बताए । हालसम्म उक्त शिक्षण संस्थाले काठमाडौंमा केन्द्रित भई कार्य सञ्चालन गर्ने गरेकोमा अब काठमाण्डौ बाहिर पनि यस्ता कार्यक्रमको खाँचो रहेको महसुस गर्दै विद्यार्थीहरुलाई लक्षित गरिएको यो अभियान अन्तर्गत हरेक शहरमा एकदिने कार्यक्रमले सिनेमा शिक्षाका विविध पक्ष समेटिनेछन् ।

बुधबार, १४ चैत, २०८०, बिहानको १०:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर