विराटनगर । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा नामिबियामाथि जित निकालेको छ । बिहीबार विश्वकपअघिको अभ्यास खेलमा नेपालले नामिबियाको यु–१९ टिममाथि ६ विकेटको जित निकालेको हो ।
दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले दिएको एक सय ४२ रनको लक्ष्य पछ्याएको नामिबियाले २९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३५ रन बनायो ।नामिबियाका लागि बुसिङ भोसेन्कले ५० रनको अर्धशतकीय पारी खेले भने मोफितले १८ रनको योगदान गरे ।
नेपालका लागि आकाश चन्द र गुलशन झाले समान तीन–तीन विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि दीपक डुम्रेले सर्वाधिक ३२ रन बनाए भने आकाश त्रिपाठीले २१ रनको योगदान गरे ।
जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना हुने यु–१९ विश्वकपका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामा छ ।
अब, नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग ‘वार्मअप’ खेल पनि खेल्ने छ ।
विश्वकपमा भने नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । समूहमा शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।