विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को छैटौँ बैठकले कर्मचारीको पदस्थापनदेखि विभिन्न प्रतिवेदन तथा मापदण्ड स्वीकृत गर्नेलगायतका महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले विभिन्न प्रशासनिक र कानुनी प्रक्रिया अगाडि बढाइएको बताए।
मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश लोकसेवा आयोगको रिक्त प्रदेश सचिव पदमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव आसमान तामाङलाई खटाउने निर्णय गरिएको छ। तामाङको ठाउँमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रदेश सचिवको रूपमा सह–सचिव कृष्णप्रसाद सापकोटालाई पदस्थापन गरिएको प्रवक्ताले बताए।
बैठकले महालेखा परीक्षकको कार्यालयको आठौँ वार्षिक प्रतिवेदन २०८३ लाई कोशी प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ। त्यसैगरी, कोशी प्रदेश भू–उपयोग परिषद्को विज्ञ सदस्य पदमा मनोनयन गर्ने निर्णय समेत भएको उनले जानकारी दिए। यस्तै, बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड २०८३ लाई स्वीकृतिका लागि आवश्यक छलफल गर्न मन्त्रिपरिषद्को सम्बन्धित समितिमा पठाउने निर्णय भएको प्रवक्ता पराजुलीले बताए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।