लोड हुँदैछ...

मेनु

प्रदेश सरकारलाई अस्थिर भन्ने सचिव तामाङ मन्त्रालयबाट हटाइए

प्रदेश सरकारलाई अस्थिर भन्ने सचिव तामाङ मन्त्रालयबाट हटाइए

विराटनगर । कोशी प्रदेश सरकारका मन्त्री र कर्मचारीतन्त्रबीचको बढ्दो अविश्वास र टकरावका बीच आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव आशमान तामाङको सरुवा भएको छ । मन्त्रीकै कार्यकक्षमा सरकारको आयुमाथि प्रश्न उठाउने र सरकारलाई अस्थिर (ट्रान्जेक्सन)को संज्ञा दिने सचिव तामाङलाई मन्त्रिपरिषद्को छैटौँ बैठकले मन्त्रालयबाट हटाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई प्रदेश लोकसेवा आयोगको रिक्त सचिव पदमा सरुवा गरी उनको ठाउँमा सह–सचिव कृष्णप्रसाद सापकोटालाई आन्तरिक मामिला मन्त्रालयको सचिवको रूपमा पदस्थापन गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार सचिव तामाङ र मन्त्री इन्द्रमणि पराजुलीबीच लामो समयदेखि सम्बन्ध चिसो थियो । सोमबार मध्यान्ह मन्त्री पराजुलीको कार्यकक्षमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्कासँग सञ्चार क्षेत्रका समस्याबारे छलफल भइरहेका बेला सचिव तामाङले गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । पत्रकारको बिमा, रेडियो नवीकरण र विज्ञापनका समस्याबारे ध्यानाकर्षण गराउँदा सचिव तामाङले ‘यस्तो आलु कुरा नगर्नु न’ भन्दै जवाफ दिएका थिए । यति मात्र होइन, मन्त्रीकै अगाडि उनले आक्रोशित हुँदै यो ‘अस्थिर सरकार’ भएको र यसको भरे–भोलिको टुङ्गो नभएको टिप्पणी गरेका थिए । उनले प्रदेश संरचनाकै औचित्यमाथि समेत प्रश्न उठाउँदै मन्त्रीको कार्यकक्षबाट बाहिरिएका थिए ।

मन्त्री पराजुली र सचिव तामाङबीच विगत तीन महिनादेखि कार्यशैलीलाई लिएर गम्भीर विवाद थियो । सरकारका प्रवक्ता समेत रहेका मन्त्री पराजुलीका अनुसार मन्त्रिपरिषद्को बैठकले महालेखा परीक्षकको कार्यालयको आठौँ वार्षिक प्रतिवेदन २०८३ लाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने, कोशी प्रदेश भू–उपयोग परिषद्को विज्ञ सदस्य पदमा मनोनयन गर्ने र बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड २०८३ लाई स्वीकृतिका लागि समितिमा पठाउने लगायतका निर्णयहरू समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।