ॐ तृप्यन्ताम’ बजारमा

काठमाडौं । लघुकथाको साहित्यिक आकाशमा नयाँ कृति ‘ॐ तृप्यन्ताम’ नामक लघुकथा सङ्ग्रह उदाएको छ ।

साहित्यकार एवं पत्रकार शङ्कर खरेलले लेख्नुभएको यस सङ्ग्रहमा वर्तमान सामाजिक, राजनीतिक, धार्मिक विषयका लघुकथाहरू सङ्ग्रहित छन् । लेखकका साहित्यका विभिन्न विधामा करिब डेढ दर्जन कृति प्रकाशित छन् ।

पितृ कार्यमा प्रयोग हुने शब्द ‘ॐ तृप्यन्ताम’ लाई नै पुस्तकको नाम दिइएको यस सङ्ग्रहमा ७८ वटा लघुकथा अटाएका छन् । राजनीतिमा हुने बेइमानी, सत्ता र सरकारमा जानलाई हुने मोलमोलाइ, भनाइ र गराइमा हुने अन्तर, न्यायिक क्षेत्रमा हुने विकृति, वैदेशिक रोजगारीमा जाँदाको सपना र बाकसमा फर्किनु पर्दाको पारिवारिक पीडाजस्ता ह्दयस्पर्शी विषयलाई समेटिएको छ ।

विगतमा पुरस्कार, सम्मानमा हुने गरेका विकृति, विसङ्गति, सहकारीले गरिब जनताको पैसा लुटेको अवस्था, पैसाको लागि प्रेमको नाटक गर्ने र बलात्कारको आरोप लगाउने प्रेमिकाका चरित्रहरूलाई पनि कथाको रूपमा ल्याइएको छ । लघुकथाका विषयवस्तु आजको सबैले भोगिरहेकै समाजको भएकाले पाठकहरूले आफैँले भोगेजस्तो महसुस गर्न सक्नेछन् ।

पुस्तकका बारेमा समीक्षा गर्न काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले पुस्तकले सामाजिक पक्षलाई उजागर गर्दै लघुकथाको क्षेत्रमा नयाँ अभ्यास गरेको बताएका छन् । पुस्तकका लेखक खरेलले समाचार लेखनका क्रममा भेटिएका पात्र र तिनका समस्याहरूलाई नै समेटेर पुस्तक लेखेको उल्लेख गर्दै पत्रकारिता र साहित्यलाई आफूले सँगसँगै अगाडि बढाउँदै लैजाने बताए ।

सो अवसरमा साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन’ले पछिल्लो समय मानिसको बढ्दो व्यस्तताका कारण लघुकथाजस्ता लघु रचनाहरूको आकर्षण बढ्दै गएको बताए । सांसद अमृत अर्यालले लघुकथाको क्षेत्रमा कृतिले नयाँ अभ्यास दिन खोजेको चर्चा गरे । लघुकथा समाजका अध्यक्ष ममता मृदुलको अध्यक्षतामा भएको सो कार्यक्रममा गीतकार विश्वराज पोखरेल, कथाकार नवराज सिलवाल, अन्नपूर्णपोष्टका सम्पादक अखण्ड भण्डारी र कलाकार दीपाश्री निरौलालगायतले पनि पुस्तक र यसका लेखकको लेखनशैलीको बारेमा प्रकाश पारेका थिए ।

– रासस

बिहिबार, २८ मंसिर, २०८०, रातीको ०८:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर