जापानलाई हराउँदै नेपाल फाइनलमा, यू–१९ एसिया कप खेल्ने पक्का

काठमाडौँ । नेपाली टोली मलेसियामा जारी एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वर्षाबाट प्रभावित सेमिफाइनल खेलमा शनिबार जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाली टोली आगामी यू—१९ एसिया कपका लागि पनि छनोट भएको छ ।

नेपालले अब प्रतियोगिताको अक्टोबर २४ तारिखमा हुने फाइनल खेलमा उपाधिका लागि संयुक्त अरब इमिरेट्स ९यूएई० को सामना गर्नेछ । त्यसअघि अक्टोबर २३ तारिखमा जापान र सिंगापुरबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा दुई विकेट गुमाएर एक सय ४० रन बनाएपछि वर्षा सुरु भएको थियो । जापानविरुद्धको सेमिफाइनल खेलमा नेपालले गतिलो सुरुआत गरेको थियो । वर्षाले खेल अवरुद्ध हुँदा नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान आकाश त्रिपाठी अविजित ३५ र कप्तान देब खनाल अविजित आठ रन बनाउँदै क्रिजमा थिए ।

आकाशले ४७ बलको सामना गरी एक छक्का र एक चौका हिर्काएका थिए । नेपालका ओपनर ब्याट्सम्यानद्वय दीपक बोहरा र अर्जुन कुमालले ३२ रनको साझेदारी गरेका थिए । दीपक ७९ रन बनाएर आउट भएका थिए । उनले ७० बलमा दुई छक्का र १० चौका पनि प्रहार गरेका थिए ।

अर्जुन भने १० रनमा पेभेलियन फर्किएका थिए । नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । जापानका बलर काजुमा कातो स्टाफोर्ड र किफर यामामोतोले एक—एक विकेट लिएका थिए । त्यसपछि खेल वर्षाका कारण खेल रोकिएको थियो ।

अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई हराउँदै संयुक्त अरब इमिरेट्स (यूएई) फाइनलमा पुगेको हो । नेपाल समूह ‘ए’ र जापान समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । यूएई समूह ‘बी’ र सिंगापुर समूह ‘सी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए ।

नेपालले समूहगत चरणको तीनवटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनले हराएको थियो ।

प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट हुनेछन् । छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् ।

त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

– रातोपाटीबाट साभार

शनिबार, ०४ कार्तिक, २०८०, दिउँसोको ०४:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर