छात्रवृत्तिका लागि महानगरले माग्यो आवेदन

विराटनगर ।विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति दिनका लागि आफैंले परीक्षा सञ्चालन गर्ने भएको छ ।
विद्यालयहरुले विद्यालय भर्नाका लागि पाएको कोटाका आधारमा अनिवार्य छात्रवृत्ति दिनुपर्ने भएकोले महानगरले परीक्षा लिएर सम्बन्धित विद्यालयमा छात्रवृत्तिका लागि सिफारिस गर्ने उद्देश्यले आवेदन माग गरेको हो ।

विराटनगर महानगरपालिका शिक्षा समितिको साउन २५ गतेको निर्णय अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा ऐन तथा नियमावली अनुसार न्यूनतम १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन आवेदन माग गरेको हो । महानगरपालिकाले आगामी भदौ १६ गते छात्रवृत्तिको परीक्षा लिने भएको छ । त्यसका लागि ईच्छुक विद्यार्थीहरुलाई भदौ १० गतेसम्ममा फारम भर्न भनिएको छ ।

विद्यार्थीका लागि छात्रवृत्ति फारम सम्बन्धित विद्यालयमा, महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा वा अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ । विद्यार्थीहरुको जानकारीका लागि हरेक विद्यालयले सूचनापाटीमा सूचना टाँस्न पत्राचार गरेको जनाएको छ ।
विद्यालयले शैक्षिक सत्र २०७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई आधार बनाएर छात्रवृत्ति विवरण बुझाउन भनेको छ । विवरण नबुझाएमा परीक्षा बोर्डमा बुझाएको विवरणका आधारमा महानगरपालिका आफैंले १० प्रतिशत छात्रवृत्ति कोटा कायम गर्ने जनाएको छ ।

विद्यालयहरुले आफ्ना विद्यार्थीमध्ये १० प्रतिशतले पाउने छात्रवृत्तिलाई शतप्रतिशत मानेर ३७ प्रतिशत जेहेन्दार, ३६ प्रतिशत विपन्नता, जनजाती १० प्रतिशत, ५ प्रतिशत दलित, ३ प्रतिशत अपाङ्गता, प्रतिशत, ३ प्रतिशत जनआन्दोलनका घाइते, २ प्रतिशत सहिद परिवार, २ प्रतिशत वेपत्ता पारिएका परिवारका सन्तति, २ प्रतिशत मधेश आन्दोलनका घाइतेका सन्ततिका लागि कोटा छुट्याइएको छ । कुल संख्यामध्ये छात्राहरु ५० प्रतिशत समावेश हुनुपर्ने व्यवस्था गरिएको छ ।

मङ्गलबार, ३० साउन, २०८०, बिहानको ०७:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर