विराटनगर । उद्योग संगठन मोरङले उद्योग व्यवसायमा असल उत्पादनका अभ्यासलाई प्राथमिकता राख्ने जनाएको छ । त्यसका लागि संगठनले उद्योग व्यवसायहरुको सर्वेक्षण पनि गरेको छ । अध्ययन सर्वेक्षणपछि संगठनले प्रतिवेदन तयार गरेको र अध्ययनबाट आएको निश्कर्षलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै जाने संगठनका अध्यक्ष राकेश सुरानाले बताए ।
अध्ययनका क्रममा उद्योग प्रतिष्ठानहरुमा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अवस्था र गर्नुपर्ने सुधारका कार्यहरुका विषयलाई समावेश गरिएको थियो । संगठनले बुधबार अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।प्रतिवेदन सार्वजनिक कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले असल उत्पादनका अभ्यास र व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अन्तरसम्वन्ध हुने बताए । वर्तमान कार्यसमितिले असल उत्पादनका अभ्यासलाई प्राथमिकता राखी सोही अन्तर्गतका गतिविधिलाई बढवा दिने प्रतिक्रिया दिए ।
उनले व्यवसायजन्य स्वास्थ्य सुरक्षा उत्पादकत्व अभिवृद्धि, दुर्घटना न्यूनिकरण र मानिसको स्वास्थ्यस“ग प्रत्यक्ष सम्बन्ध राख्ने भन्दैै आगामी दिनमा संगठनका तर्फबाट उद्योग प्रतिष्ठानहरुमा जनचेतनामूलक कार्यक्रम संचालन गरी सुधारको पहल गर्ने जानकारी दिए ।सर्वेक्षक बिजु थपलियाले प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य सुरक्षाका लागि व्यवहारिक पक्षहरु सुधार गर्नुपर्नेमा जोड दिए । उनले व्यवसायजन्य स्वास्थ्य सुरक्षाका सन्दर्भमा व्यवस्थापन र श्रमिक दुवै तर्फको चेतना स्तर फरक रहेको बताउदै जोखिम न्यूनीकरण, श्रमिकको सुरक्षा चेतना अभिवृद्धि गर्नुपर्ने सुझाव दिए ।
स्वस्थ्य कार्यस्थल निर्माण संस्कृति विकासका लागि उद्योग प्रतिष्ठानहरुले आपतकालिन सुरक्षा योजना बनाउनु पर्ने उनको सुझाव छ ।
संगठनले इन्स्योर परियोजनाको सहकार्यमा सर्वेक्षण गरेको हो । संगठनले आगामी दिनमा संगठनका सदस्य उद्योग प्रतिष्ठानहरुमा व्यवसायजन्य स्वास्थ्य सुरक्षा अडिट गर्ने प्रतिवद्धता जनाएको छ ।
कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य दिपक अग्रवाल, इन्स्योर÷हेल्भेटासका प्रदेश परियोजना प्रमुख संजीव राई लगायतका प्रतिनिधि र उद्योगी व्यवसायीहरुको उपस्थिति थियो ।