विराटनगर । विराटनगरमा सुरु भएको दोस्रो संस्करणको एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय भएका छन् ।
विराटनगर – १ स्थित डन बस्को स्कुलको खेल मैदानमा सोमबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी दुहबीको सरस्वती मावि, इटहरीको कृष्टल स्कुल र बुढीगंगा गाउँपालिकाको युनिक एकेडेमी स्कुल विजयी भएका छन् ।
सभ्य कला समाज र सम्राट् स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृति स्कुललाई ४–१ गोलले हराउँदै सरस्वती स्कुल विजय भएका छ । सरस्वती स्कुलको तर्फबाट जितको लागि रञ्जित खत्रीले दुई गोल, मोहम्मद हुसेन मिया र भक्तराज राईले समान १–१ गोल गरे । स्मृतिको तर्फबाट हेमन्त माझीले सान्त्वना गोल फर्काए ।
पहिलो खेलको म्यान अफ द म्याच सरस्वती स्कुलका दुई गोल गर्ने रञ्जित खत्री घोषित भए । उनले गिफ्ट ह्यामपर विराटनगरस्थित अर्किड कलेजले ५० हजार मूल्य बरावरको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
सोही दिन भएको दोस्रो खेलमा सुनसरीको कृष्टल स्कुलले मोरङको शारदा माविलाई टाई ब्रेकरमा ४–३ गोलले निराश बनाउँदै कष्टल स्कुल दोस्रो चरणमा पुगेको छ । निर्धारित समयसम्म दुवै टिमको १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाई ब्रेकरबाट भएको हो ।
सोही दिन भएको तेस्रो खेलमा युनिक एकेडेमीले विराटनगरको वाल्मीकि स्कुललाई ५–२ गोलले हराउँदै युनिक विजयी भएको हो । जितको लागि युनिकको तर्फबाट धिरज उराउले ४ गोल र अंकित खत्रीले एक गोल गरे । वाल्मीकिको तर्फबाट नीरज मुर्मुले दुई गोल गरे । प्रतियोगिताको म्यान अफ म्याच वाल्मीकि स्कुलका सरोज साह घोषित भए ।
प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले गरेका थिए । प्रतियोगिताको मङ्गलवार पाँच खेल हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए । साउन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक कार्कीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद, प्रमाणपत्र,मेडल, शिल्ड प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीलाई स्पोर्टिङ साइकल रहेको छ ।
पहिलो संस्करणको एसइई अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधि जेभियर्स ईङलिस बोर्डिङ स्कुल टंकी सिनुवारिले जितेको थियो ।