विराटमा शिशुको दुर्लभ उपचार

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा प्रिटम अर्थात् समय अगावै जन्मिएका कम तौल भएका नवजात शिशुको सफल उपचार भएको छ । हस्पिटलमा आएको २६ हप्ताको ७ सय ग्राम तौल भएको नवजात शिशुको सफल उपचार भएको हो ।

कम तौल भएको नवजात शिशुको सफल उपचार हस्पिटलका नवजात शिशु तथा बालरोग विशेष डाक्टर दिपराज उपाध्यय अधिकारी, बाल सर्जन डा. हिरामणी पाठक, स्त्री तथा प्रसूती रोग विशेष डा. मोनाप्रिया दर्शनीको टिमले गरेको छ ।

गत वैशाख २१ गते सुनसरी धरान १६ की २३ वर्षीया पवित्रा खड्का बिराट नर्सिङ होम आएकी थिइन् । उनी २६ हप्ताको गर्भवती थिइन् । विपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा नियमित चेपअप गरिरहेकी उनको पाठेघरमा पानी कम थियो । त्यो भन्दा जटिल स्थिति सालमा देखिएको समस्याले आमाले खाएको खाने कुरा शिशुले लिन नसक्दा बृद्विविकास रोकिएको थियो । त्यसपछि उनी विराट नर्सिङ्ग होम आएकी हुन् ।

स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर दर्शनीका अनुसार पवित्राको गर्भवती अवधि महिनावारीका हिसाबले २९ हप्ता भएको थियो । ‘भिडियो एक्स–रे मा भने २६ हप्ता देखिन्थ्यो । बच्चाको तौल ७०० ग्राम मात्रै रहेकाले समस्या थियो । यस्तो अवस्थालाई मेडिकल भाषामा आईयुजिआर (इन्ट्रा–युरेटाईन ग्रोथ रिटार्डेशन) भनिन्छ,’ उनले भनिन्, ‘आमाको स्वास्थ्य ठिकठाक भएपनि पेटमा शिशुको विकास हुन सकेन । यो अवस्थालाई आइडियोप्याथी भनिन्छ । किन यहि समस्या हो भन्न सकिँदैन तर खासमा आमा र शिशुलाई जोड्ने सालले राम्रो काम नगर्दा खाना आदनप्रदान हँुदैन । जसको कारण गर्भमा शिशुको बृद्विविकास रोकिन पुग्छ ।’

बिराटमा भएको विशेषज्ञ चिकित्सकको टिमले सात सय ग्राम तौल जन्मिएको नवजात शिशुको सफल उपचार गरेको कारणले अहिले तौल बढदै गएको नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर अधिकारीले बताए । ‘गर्भमा भएको शिशुको फोक्सोले श्वास लिने र फाल्ने अवस्थालाई मजबुत बनाउनका लागि सर्फ्याटिन प्रोटिनको प्रयोग बढाइयो,’ उनले भने, ‘बिराटमा फोर लेभलको एनआईसियु रहेको छ । सुरक्षित प्रसुतीपछि शिशुलाई भेन्टिलेटरमा राख्न जोखिम थियो । सि–पाप (कन्टिन्यु पोजेटिभ एयरवे प्रेसर) विधि प्रयोग गरियो । जसले शिशुलाई आवश्यक पर्ने अक्सिजन सप्लाई गर्दथ्यो । यो मेथडले शिशुको शरीरका अंगमा असर गर्दैन । यदि भेन्टिलेटरमा राख्नु परेको भए शिशुको आँखामा समस्या आउन सक्दथ्यो ।’

डाक्टर अधिकारीले अहिले नवजात शिशुको स्वास्थ्य धेरै राम्रो भएको बताए । ‘आँखामा पनि कुनै समस्या छैन,’ उनले भने, ‘तौल पनि वृद्धि भइरहेको छ । अहिले ८ सय ५० ग्राम तौल पुगेको छ । १ केजी ४ सय ग्राम तौल भएपछि नवजात शिशुलाई डिस्चार्ज गर्नेछौं ।’

हस्पिटलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर नवजात शिशुको उपचारमा कुनै समस्या आउन नदिने बताएको छ । २३ वैशाखमा प्रसूती भएपछि जन्म भएको नवजात शिशुको आँखा तथा कानमा समेत कुनै असर देखिएको छैन । सबै शारीरिक विकास भइरहेको चिकित्सक अधिकारीले बताए ।

सामान्यतः ३७ देखि ४० हप्तामा शिशु जन्मनुलाई समय पुगेको मानिन्छ । ३५ देखि ३७ हप्तामा लेस प्रिटम भनिन्छ । यो अवधिमा शिशुको वजन नर्मल भए यसलाई नराम्रो मानिने छैन । तर एक केजी भन्दा कम वजन भएका शिशु जन्मनुलाई अत्याधिक कम तौल मानिन्छ ।

विराटमा अहिले आमा पवित्राले आफ्नो पहिलो सन्तानलाई छातीमा टँसाएर बस्छिन् । यसलाई कङ्गारु मदर लभ भनिन्छ । दैनिक चार घण्टा पवित्राले यसरी खुशी साट्ने गरिरहेकी छिन् ।

शुक्रबार, १२ जेठ, २०८०, बिहानको ०७:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर