विराटनगर । विराटनगरमा जारी सातौँ संस्करणको विराट गोल्ड कपको सेमिफाइनल खेल आज सोमबारबाट सुरु भएको छ । विराटनगरस्थित सहिद मैदानमा सुरु हुने रात्रिकालीन विराट गोल्ड कपमा सोमबार राती ६ः४५ बजे पहिलो सेमिफाइनल खेल घरेलु टिम विराटनगर सिटी(बीसिएफ) र ‘ए’ डिभिजन टिम जावलाखेल यूथ क्लबबिच हुँदै छ ।
पहिलो हाफसम्म गोलरहित खेल बराबरी भएको छ । ९ मिनेटमा विराटनगर सिटीका विमल घर्ती मगरले डिबक्स भित्रबाटको प्रहार जावलाखेलका गोलकिपर अनीश देउलाले उत्कृष्ट बचाए ।
१७ मिनेटमा जावलाखेलका विदेशी खेलाडी एनकोटोले वान भर्सेस वानको प्रहार डिबक्स भित्रबाट गोल गर्न चुके । उनले गरेको प्रहार विराटनगर सिटीका गोलकिपर बिसकाल श्रेष्ठले विफल पारिदिए । त्यस लगतै एनकोटोले निकालेको क्रस पासलाई हिसुबले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलकिपरले पन्च गरेर मैदानतिर पठाइदिए ।
२७ औ मिनेटमा विमलले निकालेको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी मोसकले गोल गर्नबाट चुके ।
जावलाखेलले विभागीय टिम त्रिभुवन आर्मीलाई सडनडेथमा पराजित गरेको थियो भने घरेलु टिम विराटनगर सिटीले पूर्व विजेता विभागीय टिम नेपाल पुलिसलाई १–० गोलले हराउँदै सेमिफाइनलको स्थान सुरक्षित गरेको थियो ।