लोड हुँदैछ...

मेनु

विराटनगरका उद्योगीले बिहीबारदेखि आन्दोलन गर्ने 

विराटनगरका उद्योगीले बिहीबारदेखि आन्दोलन गर्ने 

विराटनगर । ‘चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ विरुद्ध आन्दोलन घोषणा गर्दै विराटनगरका उद्योगी व्यवसायीले बिहीबारदेखि बन्द हड्तालमै उत्रिने योजना सार्वजनिक गरेका छन्।

उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलन घोषणा गरेका हुन्।

उद्योगी व्यवसायीहरुका दुई दर्जनभन्दा बढी संघ संस्थाहरुले बिहीबारदेखि राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, बिहीबार एक दिन बजार बन्द गर्ने लगायतका घोषणा गरेका छन्। ‘आन्दोलन निष्कर्षमा नपुगेसम्म हामी पछि हट्ने छैनौं’, उनीहरुले भनेका छन् ‘आन्दोलनलाई देशव्यापी बनाउनेछौं।’
आन्दोलनकारी उद्योगी व्यवसायीहरुले पाँच सुत्रीय माग अघि सारेका छन्। चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरुको पहिलो माग छ। चालु पुँजी कर्जा २५ प्रतिशतमा सिमित राख्ने निर्देशिकाले आफूहरु मारमा परेको उद्योगीको भनाइ छ।

एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरुको अर्को माग छ। अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरुको भनाइ छ।
स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरुको छ।

नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ लगायतका दुई दर्जनभन्दा बढी संघ संस्थाले बिहीबारदेखि सडकमा ओर्लने तयारी गरेका हुन्।
‘बन्द हड्तालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता भयो’m परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जानुपर्ने बाध्यता आइपर्यो। हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्नेछौं।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds