विराटनगर । अछाममा पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकै परिवारका पाँच जना रहेका छन् ।

कमल बजार नगरपालिका–८ र ६ मा गरेर ९ जनाको मृत्यु भएको भएको मेयर यज्ञप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार कमल बजार नगरपालिका–८ ढुगांलामा छिउरे दमाइ सहित उनको ५ जनाको पहिरोमा पुरीएकर मृत्यु भएको हो । उनिहरुको परिवारनै सखाप भएको छ ।

यस्तै, कमल बजार नगरपालिका–६ मा ४ जनाको मृत्यु भएको छ भने अझै ४ जना घरमा पुरिएको आशंका गरिएको छ। पहिरोमा परेर घाइते भएका ४ जनालाई उद्धार गरेर उपचारका लागि मंगलसेन लगिएको छ।

‘वडा नम्बर ६ मा केहीबेर अघि वडाध्यक्षसंग सम्पर्क हुँदा ४ जनाको शव भेटिएको जानकारी दिनु भएको थियो, अहिले त्यहाँ सम्पर्क हुन सकेको छैन,’ मेयर ढकालले भने, ‘अझै ४ जना घरभित्रै पुरिएको आशंका गरिएको छ।’

अछामको कमल बजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोले ठूलो क्षति पु¥याएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए। यद्यपी, क्षतिको एकिन विवरण भने आइनसकेको उनले बताए ।