इटहरी ।सुनसरीको इटहरीको मुख्य चोकमा पूर्वराजा वीरेन्द्र शाहको प्रतिमा राख्ने बहस चलिरहेको बेला पहिचान झल्किने प्रतिमा राखिने भएको छ ।
इटहरी उपमहानगरपालिकाले नगर शौन्दर्यीकरण अन्तर्गत पूर्वराजाको ठाउँमा इटहरीको पहिचानलाई प्राथमिकता दिइएको हो ।
हाल चोक शौन्दर्यीकरण गरी आकर्षक बनाउने काम धमाधम भइरहेको छ । केही समय अगाडिदेखि वीरेन्द्र शाहको मूर्ति राख्ने विषयमा बहस सुरु भएको थियो । तर, इटहरीका राजनैतिक दल तथा विभिन्न संस्थाहरू विरोधमा उत्रिएका थिए ।
मुख्यतः राप्रपा लगायत दलले पुर्वराजाको मूर्ति राख्न दबाब दिएका थिए । तर, इटहरी उपमहानगरपालिकाले हाल ७ लाखको लगानीमा चोक सजाउने काम गरिरहेको छ । केही दिनमै इटहरीको पहिचान झल्किने प्रतिमा राखिने मेयर हेमकर्ण पौडेलले बताएका छन् ।
इटहरीको इतिहाससँग जोडिएको पहिचान झल्किने र सबैको प्रतिनिधित्व हुनेगरि प्रतिमा तयार भइरहेको उपमानगरले जनाएको छ । इटहरीको मुख्य चोकमा हाई रिजोलुसनको सिसी क्यामेरा जडान भएको छ भने ट्राफिक लाइट जडानको तयारी भइरहेको ६ नम्बर वडाका वडाध्यक्ष दिवस पोखरेलले बताए ।
इटहरीका चारतिरका सडकमा २ किलोमिटर सम्म सडक बत्ती जडान गर्ने काम सुरु भएको छ । मुख्य चोकमा रहेका रुखमा हेलोजेन लाइट लगाउने र बोर्डहरूमा रङरोगन गर्ने योजना छ ।

