मोरङको मिक्लाजुङमा विष्फोटपछि थप शंकास्पद वस्तु फेला

विराटनगर । मोरङको मिक्लाजुङमा स्थानीय तह निर्वाचनको सम्मुखमा बुधबार राति विष्फोट भएको छ।

मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालयको आसपासको क्षेत्रमा बिष्फोटको ठूलो आवाज सुनिएको स्थानीयले बताएका छन् ।

राति ११ देखि १२ बजेको बीचमा विष्फोटको ठूलो आवाज आएको स्थानीयको जानकारीपछि प्रहरीले विष्फोट गराइएको स्थान खोजी रहेको छ । विष्फोटको घटनापछि स्थानीय त्रसित बनेका छन् ।

रातिको घटना सेलाउन नपाउँदै मिक्लाजुङ–१ बर्खेमा बिहीबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। विद्यालयबाट लगभग ५० मिटर दूरीको सडकमा खतरा लेखेको प्रेसर कुकर फेला परेको हो । तारहरु बाहिर निकालेर सडकमा छाडिएको अवस्थामा प्रेसर कुकर भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

कुकर भेटिएको सडकमा दुईवटा बाँस पनि तेर्साइएको छ । शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेर प्रहरीले घटनास्थलाई सुरक्षित राखेको छ । अहिले सेनाको टोली घटनास्थलतर्फ जाँदैछ।

सडकमा शंकास्पद तरिकाले राखिएको प्रेसर कुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल मिक्लाजुङको रमितेबाट करिब १२ किलोमिटर पूर्वतर्फ तथा उर्लाबारीबाट ३२ किलोमिटर उत्तरमा पर्छ।

प्रहरीले निर्वाचन विरोधी समूहले विष्फोट गराएको र सडकमा शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरेको छ।

बैशाख २९, २०७९, बिहानको ११:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर