विराटनगर । आज राति १२ बजे देखि आगामी ७२ घन्टाका लागि सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएका छन् ।स्थानीय तह निर्वाचनको शन्तिसुरक्षालाई मध्यनजर गरेर सीमा नाका बन्द गर्न लागिएको हो ।
निर्वाचन सुरक्षाका लागि सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।
सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई आज मध्यरातिदेखि सीमा नाका बन्द गर्न निर्देशन दिइसकेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले सीमा नाका बन्द भएको सूचना जारी गर्नेछन् ।
नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।