काठमाडौं । सत्तारुढ गठबन्धनले महानगरपालिका र उपमहानगरको भागबण्डा टुंगो लगाएको छ ।
प्रधानमन्त्रीनिवास वालुवाटारमा बसेको ५ दलीय गठबन्धनको बैठकले उपमहानगरपालिकाको भागबण्डाको सहमति गरेको हो ।
नेपालगञ्जको मेयर नेपाली कांग्रेसले पाउने गरी गठबन्धनमा सहमति भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले भागबण्डा टुंग्याएको छ । स्थानीय तह निर्वाचनमा देशभरका ११ उपमहानगरपालिकामध्ये ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ ।
नेकपा माओवादी केन्द्रले जीतपुरसिमरा र घोराही गरी २ उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । यी २ उपमहानगरमा कांग्रेसले उपमेयर पाउने भएको छ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ । यी उपमहानगरपालिकामा कांग्रेसले उपमेयरको उम्मेदवार उठाउने भएको छ ।
यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ । धरान, धनगढी र नेपालगन्जको उपेयर माओवादी केन्द्रले पाउने भएको छ । इटहरी, बुटवल र तुलसीपुरमा एकीकृत समाजवादीले उपमेयर पाउने भएको छ ।
सत्तारुढ गठबन्धनले महानगरपालिकाको भागवण्डा मंगलबार नै टुंग्याएका थिए । महानगर र उपमहानगरपालिकाको नेतृत्व भागबण्डाको सहमति पत्रमा हस्ताक्षर भएको छ । दलहरूबीच भएको छलफल अनुसार, काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका कांग्रेस पाउने भएको छ ।
भरतपुर माओवादी केन्द्रले, पोखरा एकीकृत समाजवादीले र वीरगञ्ज जनता समाजवादी पार्टीले पाउने भएको छ । यी ३ वटै महानगरमा कांग्रेसले उपमेयर पाउने भएको छ । काठमाडौंमा एकीकृत समाजवादीले उपमेयर पाउने भएको छ भने ललितपुरमा माओवादीले र विराटनगरमा जसपाले उपमेयर पाउने भएको छ ।