झापा । झापामा स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारी तीव्र रूपमा भइरहेको र मतदान स्थलमा आवश्यक न्यूनतम सुविधाको व्यवस्थापन गर्ने काम भएको बताइएको छ ।
झापाको दमकमा संवाद समूह र पत्रकार महासङ्घ झापाले आयोजना गरेको छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले स्वतन्त्रतापूर्वक मतदाताले मतदान स्थलमा गएर आफ्नो मत दिनका लागि आवश्यक सबै प्रकारका सुरक्षा व्यवस्थापन मिलाइने बताए ।
दुई सय ८६ मतदान स्थलमध्ये ५१ वटा अतिसंवेदनशील, एक सय ५३ वटा संवेदनशील र ८२ वटा सामान्य भनेर वर्गीकरण गरिसकिएको छ ।
निर्वाचनको समयमा सबै सुरक्षा अङ्गसहित करिब तीन हजार म्यादी प्रहरी परिचालित हुने जनाइएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले दिनुभएको जानकारीअनुसार जिल्लामा छ लाख ४६ हजार २३४ जना मतदाता छन् ।
जिल्लामा महिला मतदाताको सङ्ख्या धेरै छ । तीन लाख २४ हजार ७०५ महिला र तीन लाख २१ हजार ५२० जना पुरुष मतदाता छन् । अन्यमा नौ जना मतदाता रहेका छन् ।
मतदान स्थलमा खानेपानी र शौचालयको प्रबन्ध मिलाइसकिएको पनि नेपालले जानकारी दिए । ज्येष्ठ नागरिकका लागि विश्राम स्थलको कहीँकहीँ व्यवस्थापन गर्न भने बाँकी रहेको उनको भनाइ थियो ।
यसैबीच, जिल्लाका १५ वटा स्थानीय तह सबैको एकै ठाउँमा बसेर मतगणना स्थलको अवस्था बुझ्न सकिने गरी सीसीटीभी जडान भएको छ ।
सबै स्थानीय तहमा के भइरहेको छ भन्ने सम्बन्धित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले हेर्न सकिने व्यवस्थापन जिल्लामा मिलाइएको हो ।