विराटनगर महानगरपालिकाको मेयरमा घिमिरेको दावी

विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) पदका लागि दाबी गर्न थालेका छन् ।

उम्मेदवारको टुंगो लगाउन जिल्ला कमिटीले सिफारिस गर्नुअघि मंगलवार पार्टी कार्यालयमा गरेको छलफलमा नेता घिमिरेले मेयरमा आफ्नो पनि दाबी रहेको बताएका छन् ।

एमाले स्रोतका अनुसार उनले मेयरमा उठ्ने इच्छा रहेको बताएका छन् । घिमिरेले बैठकमा मेयरमा उठ्ने इच्छा राखेपछि विराटनगरमा एमालेभित्र हलचल शुरू भएको छ ।

विगतमा नेता झलनाथ खनालनिकट रहेका घिमिरे १० बुँदे सहमतिमार्फत एमालेमै बसेका थिए । माधव नेपाल र झलनाथ खनालले नयाँ पार्टी खोलेपछि उनी एमालेकै सक्रिय राजनीतिमा व्यस्त छन् ।

उनी १ नम्बर प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत हुन् । एमाले महानगर कमिटीले यसअघि नै मेयरमा ५ जनाको नाम सिफारिस गरिसकेको छ । मेयरमा एमाले विराटनगर अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्य परशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरिएको थियो ।

महानगर कमिटीले उपप्रमुखमा ३ जनाको नाम सिफारिस गरेको थियो । शिल्पा कार्की, विमला घिमिरे दाहाल र अन्जु उपाध्याय ‘शिला’को नाम सिफारिस गरिएको थियो । उपमेयरमा सिफारिस भएकी विमला घिमिरेकी पत्नी हुन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतबहादुर कार्कीले नाम नै सिफारिस नभएका व्यक्तिले पनि आसन्न स्थानीय चुनावका लागि टिकट ल्याउन सक्ने बताए । ‘नाम सिफारिस नभए पनि जनताको मनोभावना बुझेर सिफारिस गर्न सकिन्छ,’ कार्कीले भने, ‘टिकट पाउन सिफारिस नै सबै आधार होइन ।’

महानगरको उम्मेदवार केन्द्रले टुंग्याउने छ । घिमिरेले आफू फेरि प्रदेश सांसद उठ्ने र मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेकाले महानगरमा मन नगरेको बताउँदै आएका थिए ।

एमाले जिल्ला कमिटी मोरङले यसअघि सिफारिस भएका पाँचै जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ । महानगर कमिटीबाट सिफारिस भएर आएका सबैको नाम प्रदेश कमिटीमा सिफारिस भएकाले थपिएका आकांक्षीको नामको विषयमा प्रदेश कमिटीले टुंग्याउने एमाले मोरङका सचिव रुपेश खतिवडाले बताए । २ दिनभित्रमा प्रदेश कमिटीले समेत केन्द्रीय कमिटीलाई नाम पठाउने तयारी गरेको छ ।

मङ्गलबार, ०६ बैशाख, २०७९, रातीको ०८:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर