महानगरपालिका र उपमहानगरपालिकामा भागबन्डा गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसहित चुनावी तयारी तथा अनुगमन समितिको बैठक आज पनि बालुवाटारमा बस्ने भएको छ। छ महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबन्डा गर्नेबारे छलफल गर्न बैठक बस्ने भएको हो ।

आइतबार (हिजो) बसेको बैठकमा कुन महानगर र उपमहानगर कसले लिने भन्नेबारे छलफल भए पनि निर्णयमा पुगेको थिएन।

सोमवार (आज) बिहान ९ बजेका लागि शीर्ष नेताहरूसहित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको चुनावी तयारी तथा अनुगमन समिति बैठक राखिएको छ।

सत्तागठबन्धनमा रहेका दलले नेपाली कांग्रेसलाई छ मध्ये काठमाडौं, ललितपुर र विराटनगर महानगर राखेर अरू छाड्न भनेका छन्। तर कांग्रेसले सबै महानगर राख्ने र उपमेयर मात्रै छाड्न सक्ने अडान राखिरहेको स्रोतको दाबी छ।

नेकपा माओवादी केन्द्रले भरतपुर, नेकपा एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्ज महानगर आफूहरूलाई छाड्न माग गरेको छ। कांग्रेसका नेताहरूले भने सबै महानगरमा आफूहरूको स्वत दाबी रहेको प्रतिक्रिया दिने गरेका छन्।

चुनावी तयारी तथा अनुगमन समितिमा सबै दलका प्रतिनिधिले आ–आफ्नो दाबी पेश गरेपछि सहमति हुन सकेको थिएन। शीर्ष नेताको उपस्थितिमा आज महानगर र उपमहानगर कहाँ कसले लिने भन्नेबारे छलफल गर्न लागिएको हो ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनमा यसअघि भएका सहमतिअनुसार नै अगाडि बढ्नुपर्ने बताइरहेका छन्। गठबन्धनमा ०७४ मा जुन दलले प्रमुख जितेको हो त्यो ठाउँ सोही दलले लिने र एमालेले जितेका ठाउँमा मतभार हेरेर धेरै मत ल्याउनेले प्रमुख पदमा उम्मेदवारी दिनेजस्ता सहमति भएका थिए।

सोमबार, ०५ बैशाख, २०७९, बिहानको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर