विराटनगर । मोरङमा गठबन्धन दलका नेताहरूबीच दूरी बढिरहेका बेला नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयर र उपमेयरका उम्मेदवारहरूको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।
मेयरका लागि ७ जना र उपमेयरका लागि ११ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको नगर सभापति दीपक चापागाईँले बताए ।
मेयरका लागि क्रमशः जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा.डिला संग्रौला, बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम केन्द्रीय कार्यालयमा बुझाएको महानगर समितिले जनाएको छ ।
यस्तै उपमेयरका लागि ११ जनाको नाम सिफारिस गरिएको चापागाइँले बताए । उनका अनुसार उपमेयरमा नीरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा.सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।
केन्द्रले नै महानगरको भागबण्डाको टुंगो लगाउने बताइरहेका बेला महानगर समितिले भने मेयर र उपमेयर उम्मेदवारका लागि नाम सिफारिस गरेको हो । महानगर समितिले यसअघि नै विराटनगरमा गठबन्धन नगर्ने निर्णय गरेको थियो ।
गठबन्धनमै रहेका दलहरूले कांग्रेसले दोहोरो चरित्र देखाउन थालेको आरोप लगाउन थालेका छन् । नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा गठबन्धनको बैठक चलिरहेका बेला कांग्रेस कार्यकर्ताले नाराबाजी गरेपछि अन्य गठबन्धन दलका नेताहरू बैठक छाडेर हिँडेका छन् ।