एमालेलाई हराएर कांग्रेसलाई ठूलो पार्टी बनाउन माओवादी बाध्य छैन : आङ्बो

विराटनगर । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताएर एमालेलाई हराउन माओवादी बाध्य नभएको बताएका छन् ।

संखुवासभा जिल्लाबाट कांग्रेस र माओवादीले औपचारिक रुपमा गठबन्धन नरहेको घोषणा गरेसँगै नेता आङ्बोले सामाजिक संजालमार्फत आफूहरुको सिद्धान्त कांग्रेसलाई जिताउनै पर्छ भन्ने नरहेको बताएका हुन् ।

‘एउटालाई हराएर अर्कालाई जिताउने ठेक्का माओवादीको होइन, लोकतन्त्र, व्यवस्था र संविधान रक्षार्थ जिम्मेवारपूर्ण सहकार्यको अपेक्षा मात्र हो, सहमतिको नाममा विलम्ब घातक मात्र हुन्छ, अब मैत्रीपूर्ण प्रतिस्पर्धाको लागि अबिलम्ब अगाडि बढौं,’ आङ्बोले भनेका छन्, ‘शीर्ष नेताहरूलाई आग्रह छ आवश्यकता र औचित्यको आधारमा स्थानीयस्तरमा नै तालमेलको अधिकार स्वेच्छिक र खुल्ला गरिदिउँ ।’सामाजिक सञ्जालमा मन्त्री आङ्बोको यस्तो टिप्पणी आएसँगै धेरै कार्यकर्ताले समर्थन गरेका छन् । गठबन्धनको बैठकमा होस् वा अनौपचारिक छलफलमा या सार्वजनिक सभाहरुमा कांग्रेसले माओवादीको धेरै अपमान गरिरहेको महसुस गरेर आफूले यसखालको टिप्पणी गरेको उनको भनाइ छ ।

‘सबैभन्दा धेरै गठबन्धन कांग्रेसलाई नै चाहिएको छ र भएजति सबै सिट पनि कांग्रेसलाई नै चाहिने भएको छ । यो तादम्यता नै मिलेन नी,’ उनले भने, ‘यो एउटा चुनौतिपूर्ण देखिन्छ । अर्को कांग्रेसभित्रको गुट व्यवस्थापन पनि चुनौतिपूर्ण देखिन्छ । एमालेलाई हराउने ठेक्का माओवादीको जिम्मा होइन । एमालेलाई हराएर कांग्रेसलाई ठूलो पार्टी किन बनाउनु पर्यो ? संविधान मिचियो, गणतन्त्र खतरामा पर्यो, व्यवस्थामा संकट आयो भनेर पो गठबन्धन गरेको त ।’

उनले माओवादीले पहिले जितेका स्थानलाई सुरक्षित गर्दै त्यति नै मात्रामा अहिले थप विजयी हुने दाबी पनि गरे । ‘हामी कमजोर अवस्थामा हुँदा पनि ०७४ सालमा हामीले सभासय हाराहारीमा स्थानीय तह जितेका छौं । अहिले हामीसँग सरकार छ । संगठन बलियो बनाएका छौं, जनताका धेरै काम गरेका छौं । अब हामीले अरु १ सय जति बढाउँदा त्यसै पनि हाम्रो सम्मानजनक अवस्था बनिहाल्छ नि कांग्रेससँगै गठबन्धन किन गर्नुपर्यो र ? त्यसकारण स्थानीयस्तरमा स्वतन्त्र हिसावले गठबन्धन गर्ने गरी अगाडि बढौं ।’

त्यस्तो परिस्थितिमा काँही एमालेसँग काँही कांग्रेससँग गठबन्धन हुने उनको भनाइ छ । ‘त्यसो गर्दा काँही एमालेसँग गठबन्धन हुन्छ, काँही कांग्रेससँग गठबन्धन हुन्छ । कांग्रेसलाई ठूलो बनाउनु पर्ने र एमालेलाई हराउनुपर्छ भन्ने हाम्रो पार्टीको सिद्धान्त पनि होइन, उद्देश्य पनि होइन र नीति पनि त्यो होइन । हामी स्थानीय तहको निर्वाचनको हकमा तालमेल गर्ने विषय कांग्रेसले भनेजस्तै आवश्यकता र औचित्यको आधारमा तल्लो तहलाई नै छोडिदिऔं,’ आङ्बोले भने, ‘त्यसो गर्दा काँही बामलोकतान्त्रिक गठबन्धन होला, काँही बामपन्थी गठबन्धन होला । गठबन्धनको विषयमा कांग्रेसले जसरी आफूलाई मसिहा ठानिरहेको छ यो कुरालाई स्वीकार गर्न सकिँदैन ।’

संखुवासभामा गठबन्धन गर्न कांग्रेस तयार भएन:माओवादी

यसैबीच माओवादी केन्द्रले संखुवासभामा कांग्रेससँग गठबन्धन नहुने घोषणा गरेको छ । माओवादी केन्द्र संखुवासभाका संयोजक टेकमान राईले एक विज्ञप्ति जारी गर्दै कांग्रेस आफ्नो निर्णय लिने स्वतन्त्र भएको बताएका छन् ।

‘यदी नेपाली काँग्रेसले पाँच दलीय गठबन्धनको मर्म, भावना र निर्णयलाई उल्लंघन गरेर एकलौटी अगाडी बढेमा हाम्रो पार्टी स्थानीय तहमा आवश्यक निर्णय लिन स्वतन्त्र छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी आफ्नो राजनैतिक अस्तित्व कायम गर्दै जनताको नेतृत्व गर्न आगामी स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न पनि तयार र सक्षम छ ।’

वैशाख २ गतेको बैठकमा कांग्रेसले आफ्नो पार्टीभित्रको अन्तरकलह, गठबन्धन दलहरुबीच पालिकाहरुमा तालमेल गर्ने विषयमा भएको सकस, नेपाली कांग्रेसबाट माओवादीलाई भएको अति उपेक्षा र अवमूल्यन गरेको कारण गठबन्धनमा सहमति हुन नसकेको निष्कर्षमा माओवादी पुगेको पनि विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले आफ्नो पार्टीभित्र देखिएको गुटगत समस्यालाई मिलाउन नसकेर गठबन्धन नगर्ने भन्दै गरेको घोषणा औचित्यपूर्ण नभएको भन्दै आफ्नो पार्टी अझै पनि गठबन्धनको भावना र मर्म अनुसार अगाडि बढ्न तयार रहेको उल्लेख गरेको छ ।

शनिबार, ०३ बैशाख, २०७९, दिउँसोको ०२:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर